(Japan) 3 rd August | 2026 | Monday | 8:07:37 PM || (Nepal) 4:52:37 PM
 
 

जापान घुम्न आउने विदेशी पर्यटकले अनुमान गरेभन्दा धेरै भात खाने गरेको खुलासा

  POSTED ON : Tuesday, 04 August, 2026 | Views : 38

जापान घुम्न आउने विदेशी पर्यटकले अनुमान गरेभन्दा धेरै भात खाने गरेको खुलासा


टोकियो, जापान ।

जापान भ्रमणमा आउने विदेशी पर्यटकले पहिले अनुमान गरिएभन्दा धेरै चामलका खानेकुरा खाने गरेको नयाँ सरकारी अध्ययनले देखाएको छ । जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०२५ को तथ्यांक अनुसार विदेशी पर्यटकले जापानमा बसाइका क्रममा प्रति दिन औसत ५७० ग्राम पकाएको भात खाने गरेका छन्, जुन करिब चार कचौरा भात बराबर हो ।

यो तथ्यांक मन्त्रालयले यसअघि गरेको ३५० ग्रामको अनुमानभन्दा निकै बढी हो । तथ्यांक १४ देश तथा क्षेत्रका पर्यटकसँग गरिएको प्रश्नावली सर्वेक्षणका आधारमा तयार गरिएको हो ।

चामल सबैभन्दा बढी खाने पर्यटकहरूको सूचीमा भियतनाम पहिलो स्थानमा रहेको छ, जहाँका पर्यटकले दैनिक औसत ७१८ ग्राम भात खाने गरेका छन् । त्यसपछि इन्डोनेसिया ७१४ ग्राम, फिलिपिन्स ६९५ ग्राम र थाइल्यान्ड ६२९ ग्राम रहेका छन् ।

अमेरिकी पर्यटकले औसत ५६५ ग्राम र चिनियाँ पर्यटकले ५४६ ग्राम भात खाने गरेका छन् । सबैभन्दा कम खपत हङकङका पर्यटकमा देखिए पनि उनीहरूले पनि दैनिक औसत ४६८ ग्राम भात खाने गरेको तथ्यांकले देखाएको छ ।

तुलनात्मक रूपमा, जापानका स्थानीय बासिन्दाले दैनिक औसत ३३०–३४० ग्राम पकाएको भात खाने गर्छन् । अर्थात् विदेशी पर्यटकले स्थानीय जापानीको तुलनामा करिब ७० प्रतिशत बढी चामल उपभोग गरिरहेका छन् ।

मन्त्रालयका अनुसार पर्यटकले केवल सुशी मात्र होइन, ओनिगिरी (चामलको परिकार) लगायतका विभिन्न परिकार दिनभरि खाने गरेकाले चामलको खपत उल्लेखनीय रूपमा बढेको हो । जापानीहरू भने दैनिक भोजनमा रोटी र चाउचाउजस्ता अन्य कार्बोहाइड्रेटयुक्त खानेकुरा पनि समावेश गर्ने भएकाले उनीहरूको चामलको खपत तुलनात्मक रूपमा कम हुने गर्दछ ।

सरकारको पछिल्लो अनुमानअनुसार जुलाई २०२५ देखि जुन २०२६ सम्म विदेशी पर्यटकले करिब ८२ हजार टन प्रशोधित चामल उपभोग गरेका छन्। यो यस वर्ष मार्चमा गरिएको ६१ हजार टन को अनुमानभन्दा धेरै बढी हो।

यो संशोधित तथ्यांक सन् २०२४ मा जापानमा देखिएको चामल अभाव पछि सार्वजनिक गरिएको हो । अत्यधिक गर्मीका कारण उत्पादन घट्नुका साथै पर्यटकको उच्च आगमनले पनि चामलको माग बढेको हुन सक्ने निष्कर्षपछि सरकारले पहिलो पटक विदेशी पर्यटकको चामल उपभोगसम्बन्धी अध्ययन गरेको हो ।

सरकारले अब पर्यटकको वास्तविक खाद्य खपतलाई पनि समेटेर चामलको माग–आपूर्तिको योजना बनाउने जनाएको छ। यद्यपि साना खेती प्रणाली, किसानको घट्दो संख्या र उत्पादन नियन्त्रणसम्बन्धी पुराना नीतिका कारण चामल उत्पादन तत्काल बढ्ने वा नबढ्ने विषय भने अझै अनिश्चित रहेको मन्त्रालयले जनाएको छ ।