(Japan) 7 th August | 2026 | Friday | 3:22:58 PM || (Nepal) 12:07:58 PM
 
 


भूकम्पपीडितलाई गरेको सहयोगप्रति नानाओ नगरद्धारा एनआरएनए जापान र नेपाली समुदायको मानवीय योगदानको प्रशंसा

  POSTED ON : Friday, 07 August, 2026 | Views : 166

भूकम्पपीडितलाई गरेको सहयोगप्रति नानाओ नगरद्धारा एनआरएनए जापान र नेपाली समुदायको मानवीय योगदानको प्रशंसा


टोकियो, जापान ।

जापानको इशिकावा प्रिफेक्चरस्थित नानाओ नगरले सन् २०२४ मा आएको विनाशकारी भूकम्पपछि राहत तथा मानवीय सहयोगमा सक्रिय भूमिका निर्वाह गरेको एनआरएनए जापान तथा जापानस्थित नेपाली समुदायप्रति औपचारिक रूपमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सन् २०२६ अगस्ट ५ मा जारी धन्यवाद पत्रमा नानाओ नगरले एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, निवर्तमान अध्यक्ष नवीन न्यूरे तथा राहत अभियान संयोजक डिल्ली प्रसाद सापकोटालाई सम्बोधन गर्दै विपत्तिको कठिन समयमा नेपाली समुदायले देखाएको ऐक्यबद्धता र मानव सेवाको भावनाको प्रशंसा गरेको हो ।

पत्रमा भूकम्पपछिको चुनौतीपूर्ण अवस्थामा जापानभर रहेका नेपाली संघसंस्था, पदाधिकारी, सदस्य तथा नेपाली समुदायबाट प्राप्त आर्थिक, भौतिक र मानवीय सहयोग अमूल्य रहेको उल्लेख गरिएको छ । विशेष गरी धेरै नेपाली स्वयंसेवकहरु प्रभावित क्षेत्रमा पुगेर सामूहिक खाना वितरण लगायतका राहत कार्यमा निरन्तर सक्रिय रहेको भन्दै नानाओ नगरले त्यसलाई उच्च सम्मानका साथ स्मरण गरेको हो ।

नगरले पीडितहरू लामो समयसम्म विस्थापित जीवन बिताइरहेका बेला नेपाली समुदायले उपलब्ध गराएको भोजन, हौसला र सान्त्वनाका शब्दहरूले उनीहरूमा आशा, आत्मविश्वास र नयाँ ऊर्जा जगाएको उल्लेख गरेको छ । यस्तो निःस्वार्थ सहयोग नानाओ नगरवासीहरूको स्मृतिमा सदैव अमिट रहने विश्वास पनि पत्रमा व्यक्त गरिएको छ ।

पत्रअनुसार नेपाली समुदायको योगदान केवल विपद् राहतमा सीमित नरही जापान र नेपालबीचको मित्रता, सद्भाव र पारस्परिक समझदारीलाई अझ बलियो बनाउने ऐतिहासिक योगदानका रूपमा समेत स्थापित भएको छ । कठिन परिस्थितिमा देखाइएको आत्मीय सहयोगले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाएको विश्वास नानाओ नगरले व्यक्त गरेको छ ।

नानाओ नगरले हाल पनि पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरू निरन्तर अगाडि बढिरहेको जानकारी दिँदै नेपाली समुदायबाट प्राप्त सहयोग र सद्भावलाई भविष्यका लागि प्रेरणाका रूपमा लिइएको जनाएको छ । नगरवासीहरूलाई पुनः सुरक्षित र सहज जीवनयापनको वातावरण उपलब्ध गराउन पूर्ण समर्पणका साथ काम गरिरहेको पनि पत्रमा उल्लेख छ ।

नानाओ नगरले एनआरएनए जापान, जापानस्थित सम्पूर्ण नेपाली संघसंस्था, पदाधिकारी, सदस्य तथा नेपाली समुदायको निरन्तर प्रगति, सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गर्दै भविष्यमा पनि जापान–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत र दीर्घकालीन रूपमा विकास हुँदै जाओस् भन्ने अपेक्षा पत्रमा गरेको छ ।

सन् २०२४ जनवरी १ मा इशिकावा प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पपछि जापानभर रहेका नेपालीहरूले राहत संकलन, खाना वितरण, आवश्यक सामग्री उपलब्ध गराउने लगायतका विभिन्न मानवीय अभियान सञ्चालन गरेका थिए । त्यस अभियानमा एनआरएनए जापानको नेतृत्वमा विभिन्न नेपाली संघसंस्था र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। अहिले नानाओ नगरबाट प्राप्त यो औपचारिक धन्यवाद पत्रलाई नेपाली समुदायको मानवीय सेवाप्रतिको सम्मान र नेपाल–जापान मित्रताको प्रतीकका रूपमा हेरिएको छ ।