टोकियो, जापान ।
बलेवा सेवा समाज जापानको आयोजनामा मानव सेवा आश्रम सहयोगार्थ जापानको टोकियोमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा धार्मिक प्रवचन, भजन–कीर्तन तथा प्रसाद वितरण लगायतका कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ । कार्यक्रममा बलेवाका सुप्रसिद्ध धार्मिक वक्ता गुरुजी गणेश पौडेलले भगवान् श्रीकृष्णको जीवन, दर्शन तथा जन्माष्टमीको धार्मिक, आध्यात्मिक र नैतिक महत्वबारे विशेष प्रवचन दिने कार्यक्रम रहेको छ ।
त्यस्तै, बलेवाली युवा भजन मण्डलीले विभिन्न भक्तिमय भजन तथा कीर्तन प्रस्तुत गर्नेछ । भजन–कीर्तनसँगै धार्मिक वातावरणमा सहभागीहरूले श्रीकृष्णको भक्ति, प्रेम, कर्म र मानव सेवासम्बन्धी सन्देशलाई आत्मसात् गर्ने अवसर पाउने आयोजकको विश्वास छ ।
धर्मसँगै मानव सेवाको सन्देश
बलेवा सेवा समाज जापानले यस कार्यक्रमलाई केवल धार्मिक उत्सवका रूपमा मात्र नभई धार्मिक आस्था र मानवीय सेवाबीचको सम्बन्धलाई जोड्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ।
कार्यक्रमबाट संकलन हुने सहयोग मानव सेवा आश्रमलाई प्रदान गरिने अध्यक्ष सुरेन्द्र पौडेल ९प्रेम०ले जानकारी दिनुभयो । आश्रमले सहारा र संरक्षणको आवश्यकता भएका मानिसहरूको सेवामा गर्दै आएको मानवीय कार्यमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष पौडेलले विदेशमा रहेर पनि नेपाली धर्म, संस्कृति, परम्परा र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै श्रीकृष्ण जन्माष्टमीको अवसरलाई मानव सेवासँग जोड्न खोजिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “धार्मिक आस्था केवल पूजा र आराधनामा सीमित नभई असहाय तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूप्रति सेवा र करुणामा पनि अभिव्यक्त हुनुपर्छ। यही भावनाका साथ कार्यक्रम आयोजना गरिएको हो।”
नेपाली समुदायको एकता र सांस्कृतिक पहिचान
कार्यक्रमका संयोजक सेवक पिसीले जापानमा रहेका नेपाली समुदायलाई आफ्नो मौलिक धर्म, संस्कृति र परम्परासँग जोडिराख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
विदेशमा रहेर आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै सामाजिक सेवामा समेत योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ। उहाँले टोकियो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवारसहित कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।
त्यस्तै, उपसंयोजक महेन्द्र पिसीले श्रीकृष्ण जन्माष्टमीले नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत नयाँ पुस्तालाई समेत नेपाली संस्कार र परम्परासँग जोड्न सकिने उहाँको भनाइ छ।
आयोजकले जापानमा रहेका नेपाली समुदायलाई निर्धारित मिति, समय र स्थानमा उपस्थित भई धार्मिक प्रवचन श्रवण गर्न, भजन–कीर्तनमा सहभागी हुन तथा प्रसाद ग्रहण गर्न आग्रह गरेको छ।
विशेषगरी बालबालिका तथा नयाँ पुस्तालाई समेत कार्यक्रममा सहभागी गराएर नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराबारे जानकारी गराउन सकिने आयोजकको अपेक्षा छ।
कार्यक्रममा सहभागी हुने श्रद्धालुहरूले धार्मिक वातावरणमा श्रीकृष्ण जन्माष्टमी मनाउनुका साथै मानव सेवा आश्रमको सहयोग अभियानमा समेत आफ्नो योगदान दिन सक्नेछन्।
बलेवा सेवा समाज जापानले कार्यक्रमलाई सफल बनाउन जापानमा रहेका सम्पूर्ण नेपाली संघसंस्था, सामाजिक अभियन्ता, व्यवसायी, युवा तथा आम नेपाली समुदायको साथ र सहभागिताको अपेक्षा गरेको छ।
धर्म, संस्कृति, सामाजिक एकता र मानव सेवाको भावनालाई एकै ठाउँमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ ।