(Japan) 14 th June | 2026 | Sunday | 11:38:53 PM || (Nepal) 8:23:53 PM
 
 

विश्वकप २०२६ : जापान कठिन परीक्षामा नेदरल्यान्ड्सविरुद्ध इतिहास बदल्ने लक्ष्यमा

  POSTED ON : Monday, 15 June, 2026 | Views : 40

विश्वकप २०२६ : जापान कठिन परीक्षामा नेदरल्यान्ड्सविरुद्ध इतिहास बदल्ने लक्ष्यमा


टोकियो, जापान ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को बहुप्रतीक्षित खेलमा आज जापानले बलियो युरोपेली टोली नेदरल्यान्ड्सको सामना गर्दैछ । अमेरिकाको टेक्सासस्थित एटी एण्ड टी स्टेडियममा हुने यो खेल जापानका लागि समूह चरणको सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक मानिएको छ ।

जापानले पछिल्ला वर्षहरूमा विश्व फुटबलमा आफूलाई एशियाको शक्तिशाली टोलीका रूपमा स्थापित गरेको छ । प्रशिक्षक हाजिमे मोरियासुको नेतृत्वमा रहेको टोली उच्च गति, अनुशासित खेल र सामूहिक प्रदर्शनका कारण विश्वकपको ‘डार्क हर्स’ टोलीका रूपमा हेरिएको छ । समूह एफमा नेदरल्यान्ड्स, स्विडेन र ट्युनिसिया रहेका छन् ।

जापान र नेदरल्यान्ड्सबीच विश्वकपमा यसअघि केवल एकपटक भेट भएको थियो । सन् २०१० को विश्वकपमा नेदरल्यान्ड्सले जापानलाई १–० ले पराजित गरेको थियो । यसपटक जापानसँग त्यो हारको बदला लिने र विश्वकप २०२६ मा बिजयी सुरुवात गर्ने अवसर छ ।

जापानले विश्वकपअघि उत्कृष्ट लय कायम राखेको छ । विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आएको जापानलाई यसपटक समूह चरण पार गर्ने मात्र होइन, अझ टाढासम्म पुग्ने दाबेदारका रूपमा हेरिएको छ । जापानी प्रशिक्षक स्वयंले यसपटक कम्तिमा सेमिफाइनल पार गर्ने लक्ष्य रहेको बताइसकेका छन् ।

जापानी स्टार ताकेफुसा कुबो टोलीका मुख्य आकर्षण हुन् । उनको रचनात्मक खेल र आक्रमण क्षमताले नेदरल्यान्ड्सको बलियो रक्षापंक्तिलाई चुनौती दिने अपेक्षा गरिएको छ ।

यता नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले पनि जापानलाई सम्मानजनक प्रतिद्वन्द्वी भन्दै सावधानी अपनाउनुपर्ने बताएका छन् । उनका अनुसार जापान शारीरिक रूपमा बलियो, तीव्र र आक्रमणमुखी टोली हो ।

विश्व फुटबलका धेरै विश्लेषकहरूले यो खेललाई समूह चरणकै सबैभन्दा रोमाञ्चक भिडन्तमध्ये एक मानेका छन् । जापानले सकारात्मक नतिजा निकाल्न सके समूहको शीर्ष स्थानका लागि बलियो दाबी प्रस्तुत गर्नेछ भने नेदरल्यान्ड्समाथि जित हासिल गरे एशियाली फुटबलका लागि अर्को ऐतिहासिक अध्याय थपिनेछ ।

जापानी समर्थकहरूको आशा राखेका छन् कि यस बर्षको विश्वकपको पहिलो खेल “सामुराई ब्लु” ले सुखद इतिहास लेख्दै सुरुवात गर्नेछ ।