नागोया, जापान ।
जापानको नागोयामा जारी २०औँ एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि नेपाल र जापानले १-१ अंक बाँडेका छन् ।
निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा शनिबार भएको खेलमा टस जितेर जापानले पहिले फिल्डिङ रोजेको थियो । वर्षाका कारण खेललाई १५ ओभरमा सीमित गरिएको थियो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको उत्कृष्ठ पारि खेलेको थियो । नेपालले जापानसामु १५० रनको कठिन लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ५७ रन बनाए । उनले टोलीको इनिङ्स सम्हाल्दै महत्वपूर्ण योगदान दिए । त्यस्तै लोकेश बमले २२ बलमा ५२ रन बनाएर नेपाललाई बलियो स्कोरतर्फ पुर्याए ।
नेपालले सुरुवातमा भने केही विकेट गुमाएको थियो । कुशल भुर्तेल ४ रनमा, आसिफ शेख २१ रनमा, कुशल मल्ल २ रनमा र गुलशन झा २ रनमा आउट भएका थिए । त्यसपछि सन्दीप जोरा र लोकेश बमले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकासेका थिए ।
नेपालको इनिङ्स सकिएपछि जापानले १५० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिनुपर्ने अवस्था थियो । तर वर्षा नरोकिएपछि खेल पुनः सुरु हुन सकेन । अन्ततः खेल रद्द गर्दै दुवै टोलीलाई १–१ अंक दिने निर्णय गरिएको हो ।
नेपाल समूह विजेता
जापानसँग अंक बाँडेपछि नेपालले समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपालले पहिलो खेलमा बलियो टेस्ट राष्ट्र अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।
अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट बलिङ गर्दै उसलाई २० ओभरमा १०२ रनमा ७ विकेट लिएर रोकेको थियो । नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिएका थिए । ब्याटिङतर्फ सन्दीप जोराले ३४ र कप्तान रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए ।
अब श्रीलंकासँग क्वार्टरफाइनल भिडन्त
समूह ‘ए’ को शीर्ष स्थानमा रहेपछि नेपालले अब क्वार्टरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको निर्धारित कार्यक्रम अनुसार समूह चरणपछि क्वार्टरफाइनल खेलहरू सेप्टेम्बर २८ र २९ मा हुनेछन् ।
नेपालले जापानविरुद्ध जित निकालेर समूहमा पूर्ण ४ अंक जोड्ने अवसर भने वर्षाका कारण गुमाएको छ । यद्यपि खेल रद्द भएपछि प्राप्त १ अंकनै नेपाललाई समूह विजेता बन्न पर्याप्त भयो ।
एसियन गेम्सको पुरुष क्रिकेटमा १० टोली सहभागी छन् । समूह चरणबाट चार टोली क्वार्टरफाइनलमा पुग्नेछन् र त्यसपछि प्रतियोगिता नकआउट चरणमा प्रवेश गर्नेछ ।
नेपालले अब श्रीलंकाविरुद्ध क्वार्टरफाइनलमा जित निकाल्दै एसियन गेम्स क्रिकेटमा ऐतिहासिक पदकको लक्ष्यलाई थप बलियो बनाउने छ ।