नागोया, जापान ।
२०औँ एशियन खेलुकद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल खेल नै खेल्न नपाई प्रतियोगिताबाट बाहिरिएको छ । लगातार मुशलधारे बर्ष हुँदा क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।
जापानमा भइरहेको प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाबीचको खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नभए उच्च वरीयताको टोली अघिल्लो चरणमा जाने नियमानुसार श्रीलङ्का सेमिफाइनलमा पुगेको छ । नेपाल भने प्रतियोगिताबाट बाहिरिएको हो ।
टी–२० विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४औं स्थानमा छ ।
नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले रद्द हुन पुगेको थियो । यसअघि हिजो तय भएका क्वाटरफाइनल खेल पनि वर्षाले नै रद्द भएका थिए ।
जापानमा ताइफुका कारण देशभर बर्षा भइरहँदा खेल स्थल नागोयामा दुई दिन देखि बर्षा भइरहेको छ । जापानमा इनडोर क्रिकेट स्टेडियम नहुँदा त्यसको मूल्य नेपालले चुकाउनुपरेको छ ।
भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच हुने तय रहेको क्वाटरफाइनल वर्षाका कारण रद्द भएपछि भारत र पाकिस्तान वरीयताका आधारमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।