नागोया, जापान ।
जापानको आइचीमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपाली क्रिकेट टोलीले शानदार बिजयी सुरुवात गरेको छ । नेपालले बुधबार टेस्ट राष्ट्र अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
आइचीस्थित निशिन क्षेत्रको कोरोगी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाएर मात्र १०२ रन जोड्न सक्यो । १०३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
यो जितसँगै नेपालले समूहमा महत्वपूर्ण दुई अंक जोडेको छ।
बलिङमा नेपाली खेलाडीको दबदबा
नेपालको जितको आधार बलिङमा देखियो । स्पिनर कुशल भुर्तेल र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानको ब्याटिङ लाइनअपलाई धराप पारिदिए ।
कुशल भुर्तेलले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए भने ललित राजवंशीले ४ ओभरमा १३ रन मात्र खर्चेर ३ विकेट लिए ।
अफगानिस्तानका ब्याटरहरूले ठूलो साझेदारी गर्न नसक्दा टोली १०२ रनमै सीमित भयो । फैसल खान अहमदजाई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए भने नांगेयालिया खान १७ रनमा अविजित रहे ।
सुरुवातमा दबाब, त्यसपछि सम्हालियो नेपाल
१०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात भने कमजोर रह्यो । ओपनर कुशल भुर्तेल खाता नखोल्दै आउट भए भने आसिफ शेखले २ रन मात्र बनाउन सके । कुशल मल्ल पनि ९ रनमा आउट भएपछि एकसमय नेपाल दबाबमा परेको थियो ।
तर सन्दीप जोरा र पूर्वकप्तान रोहितकुमार पौडेलले इनिङ्स सम्हाले । सन्दीपले रन आउट हुनुअघि ३५ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । उनी रनआउट भएपछि रोहितले कप्तान दीपेन्द्रसिंह ऐरीसँग मिलेर नेपाललाई जिततर्फ अघि बढाए ।
रोहित पौडेल ३२ बलमा ४ चौकासहित ३३ रनमा अविजित रहे । कप्तान दीपेन्द्रसिंह ऐरीले १८ बलमा १५ रनको योगदान दिंदा मात्र एक रन जितको समयमा क्याच आउट हुन पुगे ।
अफगानिस्तानविरुद्ध नेपालको दोस्रो जित
यो अफगानिस्तानविरुद्ध नेपालको दोस्रो जित हो। यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो।
त्यसअघि सन् २०१२ मा एकपटक र सन् २०१३ मा दुईपटक नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।
टेस्ट राष्ट्रविरुद्ध नेपालको यो जितले जापानमा रहेका नेपाली क्रिकेट समर्थकमाझ पनि उत्साह बढाएको छ । नागोयामा जारी एसियाडमा नेपाली टोलीको खेललाई जापानमा रहेका नेपाली समुदायले नजिकबाट पछ्याइरहेका छन् ।
अब आयोजक जापानसँग भिडन्त
नेपालले समूह चरणको अर्को खेल शनिबार आयोजक जापानसँग खेल्नेछ। समूहबाट दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
अफगानिस्तानमाथिको जितसँगै नेपालले नकआउट चरणको यात्रा थप मजबुत बनाउने अवसर पाएको छ। अब जापानविरुद्धको खेल नेपाली टोलीका लागि समूहमा आफ्नो स्थिति बलियो बनाउने अर्को महत्वपूर्ण अवसर हुनेछ।