टोकियो, जापान ।
करिब चार महिनादेखि जारी अमेरिका–इरान द्वन्द्व अन्त्यतर्फ उन्मुख भएको छ । अमेरिका र इरानबीच युद्धविराम तथा शान्ति सम्झौताका लागि सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्झौताको औपचारिक हस्ताक्षर यसै साता स्विट्जरल्याण्डमा हुने तयारी भइरहेको छ ।
सम्झौता अनुसार फारसको खाडीस्थित रणनीतिक हर्मुज जलडमरू पुनः खोलिने, अमेरिकी नाकाबन्दी हटाइने तथा आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रम सम्बन्धी थप वार्ता सञ्चालन गरिने बताइएको छ ।
यसबीच जापान सरकारले शान्ति प्रक्रियाको स्वागत गरेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले इरानको आणविक मुद्दासमेत दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा व्यक्त गर्दै मध्यपूर्वमा स्थायित्व कायम हुनुपर्ने बताएकी छिन् ।
जापान विश्वकै प्रमुख ऊर्जा आयातकर्ता राष्ट्रमध्ये एक भएकाले हर्मुज जलडमरूमध्य खुल्नु टोकियोका लागि विशेष महत्वको विषय हो । युद्धका कारण तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजार प्रभावित भएको थियो । शान्ति सम्झौताको खबर सार्वजनिक भएपछि विश्व बजारमा तेलको मूल्य घटेको र लगानीकर्तामा सकारात्मक सन्देश पुगेको छ ।
यद्यपि विश्लेषकहरूले सम्झौता ऐतिहासिक भए पनि इरानको आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र इजरायलसँग सम्बन्धित मुद्दा अझै पूर्ण रूपमा समाधान भइनसकेको बताएका छन्। त्यसैले आगामी वार्ताको सफलतामाथि मध्यपूर्वको दीर्घकालीन शान्ति निर्भर रहने देखिएको छ।
रोचक तथ्यस् जापानले सधैं अमेरिका र इरान दुवैसँग कूटनीतिक सम्बन्ध कायम राख्दै आएको छ र विगतमा पनि मध्यपूर्वमा संवाद तथा शान्तिको पक्षमा आवाज उठाउँदै आएको छ।