(Japan) 30 th September | 2026 | Wednesday | 6:06:31 PM || (Nepal) 2:51:31 PM
 
 


इजरायल १८० यात्रु लिएर उडिरहेको फ्लाईदुबई विमानमा पाइलटबीच झडप, ‘हाइज्याक’ संकेतपछि आपत्कालीन अवतरण

  POSTED ON : Wednesday, 30 September, 2026 | Views : 204

इजरायल १८० यात्रु लिएर उडिरहेको फ्लाईदुबई विमानमा पाइलटबीच झडप, ‘हाइज्याक’ संकेतपछि आपत्कालीन अवतरण


एजेन्सी ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट इजरायलको तेल अभिभतर्फ करिब १८० यात्रु बोकेर उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच झडप भएको घटनापछि विमानलाई साउदी अरबमा आपत्कालीन अवतरण गराइएको छ ।

बुधबार भएको घटनामा विमानले उडानका क्रममा आपत्कालीन संकेत पठाएको थियो । त्यसपछि विमानबाट विमानको नियन्त्रणमा अवैध हस्तक्षेपरहाइज्याकिङ जनाउने संकेत समेत प्रसारित भएको थियो । यसले मध्यपूर्वका सुरक्षा निकायहरूमा उच्च सतर्कता उत्पन्न गरेको थियो ।


३४ हजार फिटबाट अचानक १६ हजार ६०० फिटमा झर्‍यो विमान

इजरायली सञ्चारमाध्यमलाई उद्धृत गर्दै घटनाबारे आएका विवरण अनुसार विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला ककपिटभित्र दुई पाइलटबीच हिंसात्मक झडप भएको थियो ।

झडपका क्रममा विमानको उचाइ छोटो समयमा तीव्र रूपमा घटेको बताइएको छ। करिब दुई मिनेटमै विमान १६ हजार ६०० फिटसम्म तल झरेको रिपोर्टमा उल्लेख छ।

विमानबाट आएको असामान्य संकेतपछि सम्भावित सुरक्षा खतरालाई ध्यानमा राख्दै इजरायली सुरक्षा निकायसमेत सतर्क भएको थियो ।


साउदी अरबको आकाशमा दिशा परिवर्तन

घटनापछि विमानले साउदी अरबको आकाशमा आफ्नो मार्ग परिवर्तन गरेको थियो । करिब ७ मिनेटसम्म आपत्कालीन संकेत जारी भएपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो ।

फ्लाईदुबईले विमानले उडानका क्रममा एउटा ‘घटना' अनुभव गरेको पुष्टि गरेको छ । विमान सुरक्षित रूपमा तबुक विमानस्थलमा अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले घटनाको कारणबारे विस्तृत जानकारी पछि सार्वजनिक गर्ने बताएको छ ।


पाइलटबीचको झडप नै कारण भएको रिपोर्ट

फ्लाईदुबईले प्रारम्भिक रूपमा घटनाको प्रकृति मात्र पुष्टि गरे पनि इजरायली सञ्चारमाध्यमहरूले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ककपिटमा रहेका दुई पाइलटबीच भएको झडपकै कारण संकेत पठाइएको बताएका छन् ।

घटनापछि सम्बन्धित पाइलटहरूलाई निलम्बन गरिएको र थप अनुसन्धान अघि बढाइएको विवरण नेपाली सञ्चारमाध्यममा आएको छ ।

इजरायली सेनाले पनि घटनापछि जनरल स्टाफका प्रमुख इयाल जमिरले वरिष्ठ अधिकारीहरूसँग घटनाबारे सुरक्षा मूल्यांकन गरेको जनाएको छ।


ठूलो दुर्घटना टर्‍यो

ककपिटमै दुई पाइलटबीच भएको झडप, विमानको उचाइ अचानक घट्नु र त्यसपछि हाइज्याकिङसँग सम्बन्धित संकेत आउनुले घटनालाई गम्भीर सुरक्षा घटनाका रूपमा हेरिएको छ । तर विमानलाई समयमै साउदी अरबतर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

अहिले घटनाको वास्तविक कारण, पाइलटहरूबीच झडप कसरी सुरु भयो र विमानको नियन्त्रणमा कति समयसम्म असर परेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।