टोकियो, जापान ।
जापानको राजधानी टोकियोस्थित महानगरीय प्रहरीले नयाँ ढाँचाको रेसिडेन्स (जाइर्यू) कार्ड नचिन्दा एक २० वर्षीय नेपाली युवालाई गल्तीवश पक्राउ गरेको घटना सार्वजनिक भएको छ ।
जापानी सञ्चारमाध्यम क्योदो न्यूजका अनुसार ती नेपाली युवालाई अध्यागमन तथा शरणार्थी मान्यता सम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा बिहीबार पक्राउ गरिएको थियो । प्रहरीले उनले बोकेको रेसिडेन्स कार्ड नक्कली भएको ठानेपछि नियन्त्रणमा लिएको थियो ।
तर अनुसन्धानका क्रममा उक्त कार्ड सक्कली रहेको पुष्टि भएपछि प्रहरी प्रशासनले आफ्नो गल्ती स्वीकार गरेको छ । पक्राउ परेका नेपाली युवा जुन १४ देखि जारी हुन थालेको नयाँ डिजाइनको रेसिडेन्स कार्ड प्रयोग गरिरहेका थिए । नयाँ सुरक्षा विशेषता र फरक डिजाइनका कारण सिबुया प्रहरी चौकीका अधिकारीहरूले कार्डलाई सही रूपमा पहिचान गर्न नसकेको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार कार्डको स्वरूप पुरानो संस्करण भन्दा फरक भएकाले घटनास्थलमा खटिएका अधिकारीहरूले त्यसलाई नक्कली कार्ड ठानेका थिए। त्यसपछि ती नेपाली युवालाई अध्यागमन कानुन उल्लंघनको आशंकामा पक्राउ गरिएको थियो । तर सम्बन्धित निकाय मार्फत कार्डको प्रमाणीकरण गरेपछि उक्त कार्ड वैध र जापानी अध्यागमन कार्यालयद्वारा विधिवत जारी गरिएको प्रमाणित भएको हो ।
घटनापछि टोकियो महानगरीय प्रहरीले सार्वजनिक रूपमा आफ्नो त्रुटि स्वीकार गर्दै सम्बन्धित व्यक्तिप्रति असुविधा भएकोमा खेद व्यक्त गरेको जनाएको छ । साथै नयाँ ढाँचाका रेसिडेन्स कार्डबारे प्रहरी अधिकारीहरूलाई पर्याप्त जानकारी नपुगेको कारण यस्तो घटना भएको स्वीकार गरेको छ ।
जापानको अध्यागमन सेवा एजेन्सीले हालै सुरक्षा प्रणाली थप मजबुत बनाउन नयाँ डिजाइनका रेसिडेन्स कार्ड जारी गर्न थालेको छ । यस क्रममा विभिन्न सरकारी निकाय र सुरक्षा निकायका कर्मचारीलाई नयाँ कार्डको विशेषताबारे जानकारी गराउने प्रक्रिया जारी रहेको बताइएको छ ।
यस घटनाले विदेशी नागरिकसँग सम्बन्धित कागजातको पहिचान र प्रमाणीकरणमा सरकारी निकायबीच समन्वय तथा प्रशिक्षणको आवश्यकता अझ स्पष्ट बनाएको विश्लेषण गरिएको छ । आगामी दिनमा यस्ता गल्ती दोहोरिन नदिन प्रहरी प्रशासनले नयाँ कार्डको पहिचानसम्बन्धी प्रशिक्षण र सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।