टोकियो, जापान ।
जापानको ह्योगो प्रिफेक्चरस्थित कोबे शहरमा पूर्वश्रीमानको शव टुक्राटुक्रा पारेर करिब १३ वर्षसम्म फ्रीजरमा लुकाएको आरोपमा ५० वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ती महिलामाथि हाल शव परित्यागको आरोपमा अनुसन्धान गरिरहेको छ भने हत्या सम्बन्धी आरोपबारे पनि छानबिन अघि बढाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकी महिला आकी मोचिजुकीले आफ्नो पूर्वश्रीमान युताका निशिगुचीको शव फ्रीजरमा राखेको स्वीकार गरेकी छन् । अनुसन्धानका क्रममा उनले आफूले 'माफ गर्न नसकिने काम गरेको' भन्दै घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मृतक निशिगुची हाल जीवित भएको भए ५७ वर्षका हुने थिए । शव परीक्षणबाट उनको मृत्यु सन् २०१२ को डिसेम्बरतिर भएको अनुमान गरिएको छ । शव कम्मर नजिकबाट दुई भागमा विभाजित अवस्थामा फेला परेको थियो । यद्यपि मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन।
अनुसन्धानकर्ताका अनुसार दुवै जनाले सन् २०१२ मा सम्बन्धविच्छेद ९डिभोर्स० गरेका थिए । तर डिभोर्सपछि पनि उनीहरू केही समय एउटै अपार्टमेन्टमा बस्दै आएका थिए । प्रहरीले शवलाई झोलामा राखेर फ्रीजरभित्र लुकाइएको अवस्थामा भेटेको जनाएका छन् ।
यो घटना तब सार्वजनिक भयो जब अपार्टमेन्ट भवनबाट दुर्गन्ध आएको भन्दै स्थानीय बासिन्दाले जानकारी दिएका थिए । त्यसपछि प्रहरीले अपार्टमेन्टमा छापा मार्दा ठूलो फ्रीजरभित्र शव फेला परेको थियो । विद्युत् आपूर्ति बन्द भएपछि फ्रीजरले काम गर्न छाड्दा दुर्गन्ध बाहिर फैलिएको हुन सक्ने अनुसन्धानकर्ताको अनुमान छ ।
सुरुमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेकी महिलाले पछि स्वयं प्रहरीसँग सम्पर्क गरी बयान दिएको बताइएको छ । अहिले प्रहरीले हत्या कहिले र कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेको छ । यदि हत्या पुष्टि भएमा उनीमाथि थप गम्भीर आपराधिक अभियोग लाग्नेछ ।