टोकियो, जापान ।
जापानमा यस साता लगातार दुई वटा आँधी ताईफु को देशभर असर पर्ने भएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार शक्तिशाली ताइफुन मेख्खाला ओकिनावा क्षेत्रतर्फ अघि बढिरहेको छ भने ताइफु हिगोस पूर्वी जापानतर्फ नजिकिने क्रममा रहेको छ ।
मेख्खाला जुन २५ मा मियाकोजिमा आसपास र जुन २६ मा ओकिनावाको मुख्य टापु नजिक पुग्ने अनुमान गरिएको छ । त्यसपछि यो जापानको दक्षिणी प्रशान्तीय तट हुँदै पूर्वतर्फ सर्ने सम्भावना छ ।
यता हिगोस भने मेख्खालाभन्दा भित्री मार्गबाट अघि बढ्दै पूर्वी जापान, विशेषगरी राजधानी टोकियोको कान्तो क्षेत्र र इजु टापु आसपास व्यापक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । कमजोर बन्दै गए पनि यसले भारी वर्षा गराउन सक्ने मौसमविद्हरूले बताएका छन् ।
मौसम एजेन्सीले पश्चिमी तथा पूर्वी जापानका धेरै क्षेत्रमा लगातार वर्षा हुने चेतावनी दिएको छ । केही स्थानमा २७ जुनसम्म ५०० मिलिमिटर भन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ, जसका कारण बाढी, पहिरो र यातायात अवरोधको जोखिम बढेको छ ।
ओकिनावा, क्युशु, शिकोकु र होन्शुको प्रशान्तीय तटीय क्षेत्रमा सामुन्द्रीक छाल उच्च हुने तथा शक्तिशाली हावाहुरी चल्न सक्ने भएकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषज्ञहरूले नागरिकलाई मौसम सम्बन्धी ताजा सूचना नियमित रूपमा हेर्न, अनावश्यक यात्रा नगर्न र आपत्कालीन तयारी अवस्थामा रहन अनुरोध गरेका छन् ।
विशेषगरि आगामी साता सामुन्द्रीक किनार जाँदा मौषम जानकारी लिन तथा खोला एवं नदि आसपासको यात्रामा सतर्कता अपनाउन सचेत गराएको छ । साथै आगामी १० दिनको बाहिरि यात्रामा निक्लनुअघि यात्रा गर्न लागिएको क्षेत्रको मौषमि अवस्थामा पूर्व जानकारी लिन भनिएको छ ।