(Japan) 23 rd June | 2026 | Tuesday | 10:22:08 PM || (Nepal) 7:07:08 PM
 
 

नेपाली राजदूतावास टोकियोमा ‘नागरिक सहायता कक्ष’ सञ्चालन

  POSTED ON : Wednesday, 24 June, 2026 | Views : 154

नेपाली राजदूतावास टोकियोमा ‘नागरिक सहायता कक्ष’ सञ्चालन


टोकियो, जापान ।

जापानमा रहेका नेपाली नागरिकले नेपाली राजदूतावासबाट सेवा लिनुपर्दा भोग्दै आएका विभिन्न प्राविधिक झन्झट र सूचना अभावलाई कम गर्ने उद्देश्यले नेपाली राजदूतावास टोकियोमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा सञ्चालनमा आएको उक्त कक्षले सेवाग्राहीलाई आवश्यक जानकारी, कागजी प्रक्रिया तथा दूतावासीय सेवासम्बन्धी मार्गदर्शन उपलब्ध गराउने भएको छ ।

नेपाली राजदूतावास टोकियोका अनुसार सहायता कक्षको औपचारिक शुभारम्भ कार्यक्रममा कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, पूर्वअध्यक्ष नविन निउरे, प्रवक्ता सचिन आचार्य, जनजाति महासंघ जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचन, मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगर तथा दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले जापानभर रहेका नेपालीलाई दूतावासीय सेवा अझ सहज र प्रभावकारी बनाउन संघले आफ्नै कर्मचारी दूतावासमा खटाएर सहयोग गर्ने व्यवस्था मिलाएको जानकारी दिए । उनले सहायता कक्षलाई केवल प्रशासनिक सहयोगको माध्यम नभई जापानस्थित नेपाली समुदायका समस्या, जिज्ञासा र आवश्यकतामा प्रत्यक्ष सहजीकरण गर्ने माध्यमका रूपमा सहकार्य थालनी गरिएको बताए ।

लामिछानेका अनुसार दूतावासमा सेवा लिन आउने नेपालीहरूले प्रक्रिया सम्बन्धी जानकारी नपाउँदा अनावश्यक समय र श्रम खर्च गर्नुपर्ने अवस्था रहँदै आएको छ । सहायता कक्षले यस्ता समस्यालाई कम गर्दै सेवाग्राहीलाई आवश्यक निर्देशन र सहयोग प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यस्तै, कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एनआरएनए जापानको पहलको प्रशंसा गर्दै विदेशमा रहेका नेपाली नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारी निकाय र समुदायका संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यवाहक राजदूत पौडेलले दूतावास र एनआरएनए जापानबीचको सहकार्य आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

दूतावासका अनुसार नागरिक सहायता कक्ष मार्फत सेवाग्राहीले राहदानी, प्रमाणिकरण, कागजात सम्बन्धी प्रक्रिया तथा अन्य दूतावासीय सेवाबारे प्रारम्भिक जानकारी र सहजीकरण प्राप्त गर्न सक्नेछन् । यसले सेवाग्राहीको समय बचत गर्नुका साथै दूतावासका सेवामा पहुँच र प्रभावकारिता बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

जापानमा नेपाली समुदाय तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा स्थापना गरिएको यो सहायता कक्षलाई समुदायमैत्री सेवा प्रवाहतर्फ गैर आवासिय नेपाली संघ र नेपाली राजदूतावासको सहकार्यमा भएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।