(Japan) 23 rd June | 2026 | Tuesday | 5:05:04 PM || (Nepal) 1:50:04 PM
 
 

किशोरीलाई पुलबाट खसालेर हत्या गर्ने महिलालाई २७ वर्ष जेल सजाय

  POSTED ON : Tuesday, 23 June, 2026 | Views : 66

किशोरीलाई पुलबाट खसालेर हत्या गर्ने महिलालाई २७ वर्ष जेल सजाय


आसाहिकावा, होक्काइदो ।

जापानको आसाहिकावा जिल्ला अदालतले १७ वर्षीया एक उच्च माध्यमिक विद्यालयकी छात्रालाई पुलबाट नदीमा खसालेर हत्या गरेको घटनामा २३ वर्षीया रिको उचिदालाई २७ वर्षको जेल सजाय सुनाएको छ।


अदालतले सोमबार सुनाएको फैसलामा उचिदामाथि हत्या, यौन दुर्व्यवहारका कारण मृत्यु र गैरकानुनी रूपमा बन्धक बनाएको अभियोग प्रमाणित भएको ठहर गरेको हो । अभियोजन पक्षले माग गरेअनुसार नै अदालतले २७ वर्षको कैद सजाय सुनाएको हो ।


फैसला सुनाउँदै न्यायाधीश युका तानाकाले यो घटनालाई “अत्यन्त क्रूर र घृणित अपराध” भन्दै पीडिताको व्यक्तित्व र सम्मानमाथि गम्भीर आघात पुगेको उल्लेख गरिन् ।


न्यायाधीशले भनिन्, “पीडित आफैं खसेकी वा दुर्घटनावश खसेकी भए पनि प्रतिवादीको कार्य हत्या कार्यान्वयनको हिस्सा मानिन्छ।” उनले पीडितले भोग्नुपरेको असह्य पीडालाई ध्यानमा राख्दै कडा सजाय आवश्यक रहेको बताइन् ।


सुनुवाइका क्रममा उचिदाकी परिचित युका कोनिसिले अदालतमा दिएको बयानमा उचिदाले किशोरीलाई पुलबाट धकेलेको दाबी गरेकी थिइन् । तर उचिदाले भने आफूले केवल “खस” र “मर” भनेर कराएको मात्र हो, धकेलेको होइन भनेर जिकिर गरेकी थिइन् ।


अदालतको निर्णय अनुसार, सन् २०२४ अप्रिल १८ को रातिदेखि १९ को बिहानसम्म उचिदा र कोनिशीले मिलेर किशोरीलाई कारभित्र बन्धक बनाएका थिए । किशोरीले उचिदाको तस्वीर अनुमति बिना सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवाद उत्पन्न भएको अनुसन्धानबाट खुलेको थियो ।


घटनाको क्रममा पीडितलाई असाहिकावास्थित एक पुल नजिक कपडा फुकाल्न बाध्य पारिएको थियो । त्यसपछि उनलाई पुलको रेलिङमा बसालेर नदीमा खस्न बाध्य बनाइएको थियो। नदीमा डुबेर उनको मृत्यु भएको थियो ।


यस घटनामा सहअभियुक्त कोनिशीलाई यसअघि नै २३ वर्ष जेल सजाय सुनाइएको थियो, जुन फैसला अन्तिम भइसकेको छ ।


उता सोमबार सजाय सुनाउने क्रममा अदालतमा एक अप्रत्याशित घटना पनि भयो । दर्शक दीर्घाबाट एक व्यक्ति सुरक्षा घेरा तोडेर न्यायाधीशतर्फ दौडिएका थिए । अदालतका कर्मचारीहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए ।


ती व्यक्तिले “उसलाई मृत्युदण्ड दिनुपर्छ” र “यो कस्तो अदालत हो ?” भन्दै चर्को स्वरमा विरोध जनाएका थिए।


यो घटनाले जापानभर ठूलो चर्चा पाएको थियो र किशोरीमाथि भएको क्रूर व्यवहारप्रति व्यापक आक्रोश देखिएको थियो ।