(Japan) 20 th June | 2026 | Saturday | 10:57:12 PM || (Nepal) 7:42:12 PM
 
 

विदेशी मूलकी छात्रामाथि सेन्दाइमा जातीय दुर्व्यवहार, 'आफ्नै देश फर्कन' भन्दै झोलामा समेत कीला ठोकियो

  POSTED ON : Sunday, 21 June, 2026 | Views : 124

विदेशी मूलकी छात्रामाथि सेन्दाइमा जातीय दुर्व्यवहार, 'आफ्नै देश फर्कन' भन्दै झोलामा समेत कीला ठोकियो


टोकियो, जापान ।
जापानको मियागी प्रिफेक्चरस्थित सेन्दाइ सहरमा विदेशी मूलकी एक प्राथमिक तहकी छात्रामाथि गम्भीर बुलिङ (दुर्व्यवहार) भएको घटना सार्वजनिक भएको छ । सन् २०२३ मा विदेशबाट जापान आएकी ती छात्रालाई सहपाठीहरूले बारम्बार “आफ्नो देश फर्क” भन्दै अपमानजनक टिप्पणी गर्ने गरेको पाइएको छ ।

घटना झन् गम्भीर बन्दै गएपछि यस वर्ष मार्चमा उनको विद्यालयको झोलामा (रान्डोसेरु) कीला ठोकिएको अवस्थामा फेला परेको थियो । लगातारको मानसिक तथा शारीरिक त्रासका कारण ती छात्राले अन्ततः विद्यालय नै परिवर्तन गर्नुपरेको थियो ।

सेन्दाइ शिक्षा बोर्डले यस घटनालाई कानुनी रूपमा “गम्भीर बुलिङको अवस्था” को रूपमा मान्यता दिएको छ, जसका कारण तत्काल प्रशासनिक हस्तक्षेप आवश्यक मानिन्छ ।

सेन्दाइकी मेयर काजुको कोरीले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बुलिङ रोकथामलाई आफ्नो प्रशासनको प्रमुख प्राथमिकता रहेको बताएकी छन् । तर त्यसरी बिदेशी विद्यार्थीप्रति मानसिक आघात पुर्याउनेहरुमाथि भने कुनैपनि कानूनी कारवाही वा क्षतिपूर्ती भराइएको छैन ।

मेयर कोरीले बुलिङ रोकथाम गर्न प्रारम्भिक संकेत देखिनासाथ छिटो र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता घटना दोहोरिन नदिन शिक्षा बोर्डसँग मिलेर कडा रोकथाम तथा हस्तक्षेपका उपाय लागू गर्ने प्रतिबद्धता भने व्यक्त गरेकी छिन् ।
#japansamachar