(Japan) 20 th June | 2026 | Saturday | 1:11:18 PM || (Nepal) 9:56:18 AM
 
 

रास्ववा महाधिवेशनमा जापानबाट दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य उम्मेदवार, १० जना महाधिवेशन प्रतिनिधि

  POSTED ON : Saturday, 20 June, 2026 | Views : 182

रास्ववा महाधिवेशनमा जापानबाट दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य उम्मेदवार, १० जना महाधिवेशन प्रतिनिधि


टोकियो, जापान ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा प्रवास नेपाली सम्पर्क विभाग जापानका संस्थापक प्रमुख तथा महाधिवेशन प्रतिनिधि दिलेन्द्र प्रसाद जोशीले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।


पार्टी स्थापना कालदेखिनै संगठन निर्माण, विस्तार तथा प्रवासमा रहेका नेपालीहरूलाई रास्वपाको विचार, उद्देश्य र अभियानसँग जोड्न सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका जोशीले प्रवासको अनुभव, संगठनप्रतिको निष्ठा र जिम्मेवारीबोधका साथ उम्मेदवारी दिएको बताउनुभयो ।


उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी छोटो अवधिमै देशको महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा स्थापित हुनुमा देशभित्र र विदेशमा रहेका हजारौँ सदस्य, शुभेच्छुक, अभियन्ता तथा संगठन निर्माणमा योगदान गर्ने साथीहरूको अथक मेहनत, विश्वास र समर्पणको महत्वपूर्ण भूमिका रहेको छ।


“पार्टी आज जहाँ आइपुगेको छ, त्यसको आधार सुरुवाती दिनदेखि परिवर्तनको आशा बोकेर जोडिनुभएका साथीहरूको श्रम, समय र विश्वास हो,” जोशीले भन्नुभयो। उहाँका अनुसार कसैले नेतृत्वको भूमिकामा रहेर, कसैले पृष्ठभूमिबाट संगठन विस्तार, जनसम्पर्क, आर्थिक, बौद्धिक, प्राविधिक तथा नैतिक सहयोगमार्फत पार्टी निर्माणमा योगदान पुर्‍याएका छन्।


“राजनीतिक संगठन केवल पद, संरचना र चुनावी परिणामले मात्र बलियो हुँदैन। संगठनको स्मृति, मूल्य, अनुशासन, न्यायपूर्ण मूल्यांकन र योगदानको सम्मान पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” उहाँले प्रवास संगठनको विषयमा पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै जोशीले विदेशमा रहेका नेपालीहरूले पार्टीप्रति ठूलो आशा, विश्वास र सद्भाव राखेको बताउनुभयो ।


“प्रवासमा रहेका नेपालीहरू केवल सहयोगी शक्ति मात्र होइनन्, उनीहरू अनुभव, सीप, ज्ञान, पूँजी र अन्तर्राष्ट्रिय दृष्टिकोणका महत्वपूर्ण स्रोत हुन्,” उहाँले भन्नुभयो।


जोशीले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि नभई प्रवास नेपालीहरूको आवाज पार्टीको केन्द्रसम्म पुर्‍याउने, प्रवास संगठनलाई अझ व्यवस्थित बनाउने तथा योगदानको सम्मान र संस्थागत मूल्यांकनको संस्कृति विकास गर्ने उद्देश्यले दिएको बताउनुभयो ।


जापानबाट १० जना रास्वपा महाधिवेशन प्रतिनिधि सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टिको जापान भातृसंस्था जापान प्रवास संगठनले पार्टिको प्रथम महाधिवेशनका लागि जापानबाट १० जनालाई पार्टि प्रतिनिधिमा सिफारिस गरेको छ ।


जापानसमाचारडटकमले प्राप्त गरेको विवरण अनुसार रिफारिस हुनेहरुमा जापान प्रवास संगठनका संस्थापक दिलेन्द्र प्रसाद जोशी लगायत रहनुभएको छ ।


सिफारिस हुनुभएका व्यक्तिहरु

दिलेन्द्र प्रसाद जोशी

दीपक (कार्की) केसी

भवदत्त (भोजेन्द्र) सुवेदी

श्यामकुमार श्रेष्ठ (शितल)

कविकिरण न्यौपाने

फणिन्द्र शर्मा

भेषनाथ गौतम (कृष्ण)

कमला काप्री (लम्साल)

यम प्रसाद भुषाल

थमन कँडेल