टोकियो, जापान ।
जापान सरकारले जापानी भाषामा मिन्पाकु भनिने (जसलाई अँग्रेजिमा Airbnb भनिन्छ) जस्ता छोटो अवधिका निजी आवास भाडामा दिने सेवामाथि थप कडाइ गर्ने तयारी गरेको छ । राति अबेरसम्म हुने पार्टी, फोहोर व्यवस्थापनका नियम उल्लंघन, सडकमा चुरोटका ठुटा फाल्ने तथा स्थानीय बासिन्दाको शान्त जीवनमा असर पर्ने गुनासो बढेपछि सरकारले स्थानीय तहलाई यस्ता सेवामा प्रतिबन्ध लगाउन सक्नेगरि अधिकार दिने भएको छ ।
जापान पर्यटन एजेन्सीले देशभर एकैपटक प्रतिबन्ध लगाउने योजना नबनाएपनि यसै महिनाभित्र स्थानीय सरकारहरूलाई नयाँ सिफारिस जारी गर्दै आवश्यक परे आफ्ना क्षेत्रका नियम संशोधन गरी ‘मिन्पाकु’ सञ्चालनमा कडा नियन्त्रण गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।
जापान पर्यटन एजेन्सीका प्रमुख शिगेकी मुराताले पत्रकार सम्मेलनमा भने, “यदि छोटो अवधिका आवास सेवाको विस्तारले आवासीय क्षेत्रको शान्त वातावरण तथा विद्यालय आसपासको शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पार्ने सम्भावना देखियो भने स्थानीय सरकारले आफ्नै नियम मार्फत प्रतिबन्ध वा कडा नियन्त्रण गर्न सक्ने व्यवस्था नयाँ नियममा प्रस्ताव गरिएको छ।”
१८० दिनबाट अब स्थानीय सरकारले प्रतिबन्ध लगाउन सक्ने
हाल जापानको २०१८ मा लागू भएको ‘प्राइभेट लजिङ बिजनेस एक्ट’ अनुसार निजी घर वा अपार्टमेन्ट वर्षमा अधिकतम १८० दिनसम्म पर्यटकलाई भाडामा दिन पाइन्छ । यो व्यवस्था विदेशी पर्यटकको संख्या बढाउने र टोकियो ओलम्पिक तथा ओसाका एक्स्पो जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमका बेला होटल अभाव हुन नदिन ल्याइएको थियो ।
तर अब स्थानीय सरकारले चाहेमा उक्त सीमा १८० दिनबाट घटाएर शून्य दिनसम्म पुर्याउन सक्नेछ । यसो भएमा हाल यस्ता सेवा दिइरहेका क्षेत्रमा स्थानिय निकायले ‘मिन्पाकु’ सेवा पूर्ण रूपमा बन्द गर्न सक्नेछ ।
सरकारले यसअघि ‘शून्य-दिन नियम’ लाई उपयुक्त नठाने पनि पछिल्ला वर्षहरूमा बढेका समस्याका कारण आफ्नो धारणा परिवर्तन गरेको जनाएको छ ।
जापानभर ६३ हजारभन्दा बढी निजी आवास
सरकारी तथ्यांक अनुसार मे २०२६ सम्म जापानभर ६३,६५८ वटा मिन्पाकु आवास दर्ता भएका छन्। कानुन लागू भएको सन् २०१८ को जुन महिनामा यस्तो संख्या केवल २,२१० मात्र थियो। आठ वर्षमै यसको संख्या झन्डै ३० गुणाले बढेको छ । यसो हुनुको कारणमा ग्रामिण क्षेत्रमा बढ्दो मानव बस्ती खाली हुनु तथा शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा केहि दिनका लागि शान्त वातावरणमा रमाउन वा रमाइलो गर्न जान चाहने व्यक्तिहरुको संख्यामा आएको बृद्धिलाई ठानिएको छ ।
शिन्जुकुमा मात्र ९०० भन्दा बढी गुनासो
टोकियोको शिन्जुकु वार्ड, जहाँ देशकै सबैभन्दा धेरै निजी आवास सञ्चालनमा छन्, त्यहाँ आर्थिक वर्ष २०२५ मा मात्रै पर्यटकको व्यवहारसँग सम्बन्धित ९०० भन्दा बढी गुनासो दर्ता भएका थिए । चार वर्षअघि यस्ता गुनासो केवल ७० वटा थिए ।
स्थानीय बासिन्दाले राति हुने होहल्ला, फोहोरको अव्यवस्थित व्यवस्थापन, पार्किङ समस्या तथा सुरक्षा सम्बन्धी चिन्ता व्यक्त गर्दै आएका छन् ।
जापानमा बस्ने नेपालीहरूलाई के असर पर्न सक्छ ?
जापानमा घर, अपार्टमेन्ट वा खाली कोठा Airbnb मार्फत भाडामा दिने केही नेपालीहरू पनि यस नीतिबाट प्रभावित हुन सक्छन् । स्थानीय सरकारले नियम कडा बनाएमा अतिरिक्त आम्दानीका रूपमा सञ्चालन गरिएका यस्ता आवास व्यवसाय बन्द हुन सक्ने वा सञ्चालन अवधि घट्न सक्ने सम्भावना छ ।
अर्कोतर्फ, आवासीय क्षेत्रको शान्त वातावरण कायम राख्न र स्थानीय समुदायसँग हुने विवाद कम गर्न भने नयाँ व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
पर्यटन विशेषज्ञहरूका अनुसार आवासीय क्षेत्र मुख्य रूपमा मानिसहरू शान्तिपूर्वक बस्नका लागि बनाइएका स्थान भएकाले पर्यटन प्रवर्द्धन र स्थानीय बासिन्दाको जीवनस्तरबीच सन्तुलन कायम गर्नु अहिले जापानका लागि ठूलो चुनौती बनेको छ । यहि मुद्दाका कारणपनि पछिल्लो समय जापानका बिदेशी नागरिकप्रतिको धारणामा परिवर्तन हुँदै जाँदा जापान सरकारले नै अध्यागमन नियममा कडाई गर्दै लगिरहेको छ ।