(Japan) 21 st June | 2026 | Sunday | 6:53:14 PM || (Nepal) 3:38:14 PM
 
 

विश्वकप २०२६ : ट्युनिसियामाथि जापानको ४-० को शानदार जित

  POSTED ON : Sunday, 21 June, 2026 | Views : 72

विश्वकप २०२६ : ट्युनिसियामाथि जापानको ४-० को शानदार जित


टोकियो, जापान ।

फिफा विश्वकप ईतिहासकै महत्वपूर्ण एक हजारौं खेलमा जापानले किर्तिमानी जीत दर्ता गरेको छ ।


फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको महत्वपूर्ण खेलमा जापानले ट्युनिसियालाई ४–० ले पराजित गर्दै नकआउट चरण पुग्ने बलियो सम्भावना बनाएको छ ।

खेल सुरु भएको केवल तेस्रो मिनेटमै दाइची कामादाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसपछि आयासे उएदाले पहिलो हाफमै अर्को गोल थप्दै जापानलाई २–० को सहज स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा पनि जापानको दबदबा कायम रह्यो । ६८औँ मिनेटमा जुन्या इतोले तेस्रो गोल गरे भने खेल सकिन मात्र पाँच मिनेट बाँकी रहँदा उएदाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित ४–० मा सुनिश्चित गरे । उएदा खेलका उत्कृष्ट खेलाडी समेत घोषित बने ।

प्रमुख खेलाडी ताकेफुसा कुबो चोटका कारण अनुपस्थित भए पनि प्रशिक्षक हाजिमे मोरियासुको टोलीले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै ट्युनिसियालाई गोलको कुनै मौका दिएन । जापानले आक्रामक र व्यवस्थित खेल प्रस्तुत गर्दै प्रतियोगितामा आफूलाई बलियो दाबेदारका रूपमा स्थापित गरेको छ ।

उता, पहिलो खेलमा स्विडेनसँग ५–१ ले पराजित भएको ट्युनिसियाले प्रशिक्षक परिवर्तन गरे पनि नतिजा सुधार्न सकेन । लगातार दोस्रो हारसँगै ट्युनिसियाको नकआउट चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

यो जितसँगै जापानले समूह एफमा महत्वपूर्ण तीन अंक थपेको छ र अन्तिम ३२ मा स्थान बनाउने सम्भावना निकै बलियो बनाएको छ ।