टोकियो, जापान ।
अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन झन्डै तीन दशकयताकै कमजोर स्तरमा पुगेपछि जापान सरकार पुनः विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ ।
मध्यपूर्वमा जारी तनाव, अमेरिका र जापानबीचको ब्याजदर अन्तर तथा दुवै देशका केन्द्रीय बैंकको मौद्रिक नीतिका कारण येनमाथि निरन्तर दबाब बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जापानकी अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे मुद्रा बजारमा दृढ कदम चाल्न सरकार तयार रहेको बताउनुभएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँगको भेटवार्तापछि उहाँले विनिमय दरको अत्यधिक उतारचढाव नियन्त्रणका लागि दुवै देशबीच समान समझदारी रहेको उल्लेख गर्नुभयो।
डलरको तुलनामा जापानी मुद्रा केही समयका लागि प्रतिडलर १६१।९३ येनसम्म झरेको थियो, जुन सन् १९९६ पछिकै सबैभन्दा कमजोर स्तरमध्ये एक मानिएको छ। पछि भने येनमा सामान्य सुधार आउँदै प्रतिडलर करिब १६१.६० येनमा कारोबार भएको थियो।
येनको अवमूल्यन रोक्न जापान सरकारले गत महिना मात्रै ७० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरेर बजारमा हस्तक्षेप गरेको थियो। तर पनि अमेरिकी फेडरल रिजर्भको कडा मौद्रिक नीतिका कारण जापानी मुद्रामाथिको दबाब कायम रहेको छ।
कमजोर येनले जापानका लागि ऊर्जा, पेट्रोलियम पदार्थ तथा कच्चा सामग्री आयात महँगो बनाएको छ। आयात लागत बढेसँगै उपभोक्ता मूल्यमा समेत दबाब परेको छ। यद्यपि अर्कोतर्फ विदेशी पर्यटकका लागि जापान अपेक्षाकृत सस्तो गन्तव्य बनेकाले पर्यटन उद्योगले फाइदा उठाइरहेको छ।
एमयूएफजी बैंकका विश्लेषक माइकल वानका अनुसार येनलाई दीर्घकालीन रूपमा बलियो बनाउन जापान र अमेरिकाबीचको ब्याजदर अन्तर घटाउन आवश्यक छ। उहाँले बैंक अफ जापानले थप स्पष्ट र आक्रामक मौद्रिक नीति अपनाउने संकेत दिन सके मात्र येनमा स्थायी सुधार आउन सक्ने बताउनुभयो।
गत साता बैंक अफ जापानले ब्याजदरलाई ३१ वर्षयताकै उच्च स्तरमा पुर्याएको थियो । उता अमेरिकी फेडरल रिजर्भले पनि मुद्रास्फीति नियन्त्रणका लागि आवश्यक परे थप ब्याजदर वृद्धि गर्न सकिने संकेत दिएको छ।
यद्यपि जापानमा ब्याजदर थप बढाइए आर्थिक वृद्धिमा असर पर्न सक्ने चिन्ताका कारण प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकार थप कडा मौद्रिक नीतिप्रति सावधानी अपनाइरहेको विश्लेषकहरूको भनाइ छ ।
अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन लगातार कमजोर बन्दै जाँदा जापानमा बसोबास गर्ने नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
येनको मूल्य घटेसँगै नेपाल पैसा पठाउने नेपालीहरूले पहिलेको तुलनामा कम नेपाली रुपैयाँ प्राप्त गरिरहेका छन्। यसले रेमिटेन्समा निर्भर परिवारहरूको आम्दानीमा असर परेको छ ।
त्यस्तै, जापानले अधिकांश ऊर्जा र कच्चा पदार्थ विदेशबाट आयात गर्ने भएकाले पेट्रोल, ग्यास, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको छ। परिणामस्वरूप तलब बढे पनि सर्वसाधारणको क्रयशक्ति कमजोर बनेको छ।
कमजोर येनका कारण नेपालबाट जापान आउने पर्यटक तथा परिवारजनका लागि भने यात्रा र बसाइ खर्च केही सस्तो भएको छ। तर जापानमा अध्ययनरत तथा काम गर्ने नेपाली विद्यार्थीहरूलाई ऋण तिर्न, बचत गर्न र नेपाल पैसा पठाउन थप चुनौती थपिएको छ।
दीर्घकालीन रूपमा जापानमा बसोबास गर्दै नेपालमा घरजग्गा वा अन्य लगानी गर्ने योजना बनाएका नेपालीहरू पनि कमजोर येनका कारण चिन्तित देखिएका छन् । वर्षौंको बचतलाई नेपाली रुपैयाँमा साट्दा अपेक्षाकृत कम मूल्य प्राप्त हुने भएकाले उनीहरूमा आर्थिक दबाब बढेको छ।