(Japan) 26 th August | 2026 | Wednesday | 5:19:16 PM || (Nepal) 2:04:16 PM
 
 


'हामी' अर्थात् बामे सर्दैको दुई बर्षे बालक !

  POSTED ON : Wednesday, 01 April, 2020 | Views : 6230

'हामी' अर्थात् बामे सर्दैको दुई बर्षे बालक !


यो नितान्त व्यक्तिगत प्रशंगमा त्यो सेरोफेरोमा जोडिएका भावना हुन् । अर्थात् जापानसमाचारडटकमको नाममा जापानमा रहेर गरिएको गैर पत्रकारिता अभ्यासको कुरा ।

पत्रकारिताको थोरै अध्ययन र अभ्यासलाई रहरको रुपमा निरन्तरता दिने क्रममा नेपालमा रहँदानै सञ्चालन गर्दै आएको टपनेपालन्युजडटकमलाई जापान आएदेखीनै जारी राख्ने प्रयास गर्दैथिएं ।

नेपालको ९० प्रतिशत समाचार जापानबाट राख्ने अभ्यास आफैंमा गलत भन्ने आत्मानुभूति भएपछि त्यसलाई रोक्ने निर्णयमा पुगें ।

मेरो निर्णयमा सँधै साथ र सहयोग मात्र नभई हरतरहको हौसला र मायाँ दिईरहने मेरो मित्र रामहरीअर्जुनको अर्को साथपछि टपनेपालन्युजलाई नेपालबाटै चलाउनेगरि मैंले सम्पूर्ण जिम्मेवारी दुईजनामा सुम्पिएं । भलै हामी तीनैजनाको सहकार्य सँधै एकसाथ चलिराखेकै छ र चल्नेछ नै ।

टाउकामा रहेको ठूलो जिम्मेवारी रामहरीको काँधमा सुम्पिँदा अर्जुनको साथ मिलेपछि बल्ल मैंले यता सुरु गरें जापानसमाचारडटकम ।

जापानमा रहेर जे जति सकिन्छ मुलथलो जापानकै समाचारलाई पहिलो प्राथमिकतामा राखेर किन नलेख्ने भन्ने मेरो प्रयासमा मुन्चा हाउसको तर्फबाट राजन श्रेष्ठ जीले साथ दिएपछि यसले मुर्त रुप पायो ।

डोमन जुराउन भगिरथ नाम खोज्दा मिलेको जापानसमाचार सहज हुँदा अनेकन नाममध्ये यसैलाई मैंले रोजेको थिएं ।

डोमेनलाई दर्ता गर्ने प्रविधि अनि अनलाईनमा पैसा तिर्ने विधि नजानेको मेरो समस्यालाई आदरणीय दाजु रविन्द्र अधिकारीले बेलायतबाट मायाँले साथ दिंदा मेरो सोचले पूर्णता पायो ।

वेवसाईटले त पूर्णता पायो तर सञ्चालनको सारथी अभाव भने खड्कीनै रहेको थियो । तर त्यो अभावमा सँधै मायाँ र हौसला दिएर आजको मितिसम्म त्यसलाई झन दरिलो बनाएर ज्याक खड्का दाईले निभाउनुभएको अभिभावकिय भूमिका मेरोलागि जिवनको ठूलो गूण रहेको छ । यसमा साथी मदन पाठकको उत्प्रेरणा र हौसला अनि सँगै साथहुने केहीघण्टालाई पनि कटौति गरेर समाचारमा मन भर्न वातावरण मिलाईदिने सहयात्री जापानसमाचार चलायमान बनाउने असली हकदार हुन् ।

दुई बर्षको अवधिमा यो समाचार तयार पार्दासम्म ३३ सय ४४ वटा समाचार लेखिएछ । यसमा दर्जनौं लेख, रचना, साभार समाचार समेत कटाउँदा ३ हजार सरदर समाचार लेखें हुँला ।

कति शब्द लेखिएहोलान् ति समाचारमा । अनि कसका समाचार लेखे हुँला र कसका लागि लेखें हुँला अहिले मनमा आफैं प्रश्नोत्तर चलिरहेको छ ।

मैंले मेरा निम्ति मेरो स्वार्थमा शब्द खर्चें भन्ने कहिल्यै आत्मबोध हुन नदिई समाचार लेखेको मेरो विश्वास छ । जसलाई मं सँधै जिवन्त राख्ने प्रयास गर्नेछु ।

जापानमा भएका नेपाली समुदाय र संघसंस्थाका विषय प्राथमिकतामा परेपनि सभा, भेला, सम्मेलन, स्वागत, सम्मान जस्ता खुद्रा समाचार जापानसमाचारको कहिल्यै पहिलो प्राथमिकताका समाचार परेनन् र पर्दैनन् ।

प्रवासमा रहेर राजनीतिक बिचार राख्ने जो कसैको व्यक्तिगत अधिकारको सम्मान गरेपनि संस्थागत राजनीतिलाई प्राथमितामा नराखेको जापानसमाचारले आगामी दिनमा समेत दलिय विषय र सूचनालाई समाचारको आधार ठान्नेछैन ।

जापानमा नेपाली समुदायले गर्ने रचनात्मक प्रयास, देशको भलोको लागि प्रतिनिधित्व जनाएर हुने कर्म र सत्प्रयासमा जापानसमाचारले सँधै झैं सहयोगी बनेर समाचारिय ढंगले साथ दिने प्रयासलाई निरन्तरता दिनेनैछ ।

यस बाहेक जापानमा रहेका करिव एक लाख नेपालीका महत्वपूर्ण घटनाक्रम, नेपाल र नेपाली नागरिक सम्वन्धित हुने जापानको सूचना र समाचारहरु, जापानको राष्ट्रिय विषयसँगै महत्वपूर्ण अन्तर्राष्ट्रिय घटनाक्रममा जापानसमाचारले आफ्नो कलमलाई निरन्तरता दिनेनै छ ।

आजसम्मको दुईबर्षे बालकको तातेताते हिँडाईमा हात समाएर बामे सर्न सिकाउने शुभचिन्तक, सहयोगी, सद्भाव राख्नुहुने मित्र अनि आलोचनात्मक टिप्पणी र गल्ति औंल्याएर सुध्रन पाठ सिकाउनुहुने सबैप्रति नमन गर्दछु ।

आशा र विश्वास छ यो निरन्तरको यात्रामा तपाईहरुको साथ यसैगरि निरन्तर पाईरहनेछु ।

...

गोकर्ण अधिकारी

प्रधान सम्पादक

एवं

जापानसमाचारडटकम परिवार