डा.सन्दिप शाक्य-
कोरोना भाइरस : जापानबाट हामीले के सिक्ने ?
कोरोना भाइरस चिनको हुहानबाट सुरु भइ जापानमा देखापरेको दुई महिना भैसक्यो ।
डाइमण्ड प्रिन्सेस पानी जहाजबाट जापानमा कोरोना संक्रमितको संख्या एकैपटक बढेपनि त्यसपछि जापानमा संत्रमितको संख्यामा अन्यदेशमा जस्तो वृद्धि भएको छैन ।
क्लस्टर इन्फेक्सन
जापानको कोरोना भाइरस संक्रमण हेरेर हामीले के कुरा थाहापाउन सक्छौं भन्दा जब एक ठाउँमा यो देखा पर्छ यसको वरिपरि धेरैलाई यो रोग सरेको पाईएको छ ।
यसलाई क्लस्टर इन्फेक्सन भनिन्छ । ट्याक्सी ड्राईभर युनियनको डुंगामा गरिएको न्यु ईयर पार्टीमा भाग लिएकाबाट सुरु भइ ओसाकाको कंसर्ट, इचिकावाको जिम, आरिताको अस्पताल अनि कोरोना लागेका व्यक्तिको परिवार ।
यसबाट के थाहा पाउछौँ भने कोरोना लाग्ने हाईरिस्क व्यक्ति भनेको स्वास्थ कार्यकर्ताहरु, संगै बस्ने परिवारका व्यक्तिहरु र अरुलाई सर्ने भनेको बन्द कोठामा संगै समय बिताउने व्यक्तिहरु मुख्य रुपमा संक्रमणको जोखिममा रहेका हुन्छन् ।
कोरोना कसरी सर्छ ?
जापानको आइचि प्रोभिन्सको पबमा भएको एउटा घटना जहाँ कोरोना भएको एक व्यक्तिले जानीजानी रोग सारौँ भनि पबमा आउछ र एक महिलासँग च्याप्पिएर एउटै माइकबाट गीत गाउँछ ।
केहि समय पछि कोरोना भाईरसबाट संक्रमित भएको कुरा थाहा पाएपछि पसलको साहुजीले घर पठाई दिन्छ ।
केहि दिन पछि यस पबमा काम गर्ने महिलालाई कोरोना भाइरस भएकोकुरा खुल्न आउँछ तर संगै बस्ने महिला नभईकन कोरोना लागेको पुरुसले पसल खुल्नु अघि लामो समय बसेको वेटिंग रुमको सोफामा बसेर मेकअप गर्ने महिलालाई यो रोग देखा पर्छ ।
यसबाट के थाहा पाइन्छ भन्दा कोरोना संगै बस्दैमा सरि हाल्ने पनि होइन र संगै बसेन भनेर नसर्ने पनि होइन ।
कोरोना दुई प्रकारले सर्छ एउटा हावामा भएको किटाणु श्वास प्रणालीभइ भित्र पसेर जसलाई ड्रपलेट ईन्फेक्सन (droplet Infection) भन्छौं र अर्को टेबल या सोफाहरुमा भएको किटाणु अर्को व्यक्तिको हात भइ सर्छ । जसलाई सरफेस ईन्फेक्सन (surface Infection) भनिन्छ । माथिको केसमा घटनाको प्रकृती हेर्दा सरफेस ईन्फेक्सनको सम्भावना देखिन्छ ।
कोरोनाबाट बच्न के गर्ने ?
कोरोना सर्नको लागि पहिला कोरोना भएको व्यक्ति हुनुपर्छ ।
त्यस व्यक्तिको खोकी वा बोलिबाट निस्केको किटाणु तपाईको श्वास प्रणालि भएर वा हात वा जीउको अन्य भाग भएर तपाईं भित्र सर्छ ।
भाईरस सर्नको लागि संगै बसेको वा बन्द कोठाभित्र रहेको अवस्थामा सर्ने सम्भावना धेरै हुन्छ ।
त्यसैले कोरोनाबाट बच्न निम्न कुरामा गम्भिर ध्यान दिनुपर्दछ
-एक तपाईं वरिपरि कोरोना भएको व्यक्ति छ कि छैन ? त्यसको लागी समाचारहरुबाट जानकारी लिने ।
-दुई भेन्टिलेसन नभएको धेरै मान्छे जम्मा हुने ठाउं अत्यावश्यक बाहेक नजाने र
-तीन जानैपरेमा मास्क लगाउने र राम्रो संग हात धुने गर्ने । अनि सँगै रहँदा केही मिटरको ग्याप राखेर मात्र बस्ने ।
कोरोना लागिहालेमा के हुन्छ ?
कोरोनाको अहिले सम्मको संक्रमणलाई हेर्दा युवाहरु लाई यसले खासै धेरै असर पारेको पाईंदैन ।
तर बृद्द या अन्य रोगबाट ग्रसितहरुलाई धेरैनै घातक देखिएको छ । छिट्टै भाईरसले गलाएर त्यस्ता व्यक्तिको मृत्यु समेत हुने सम्भावना देखिन्छ ।
युवाहरुमा हुँदा कस्तो हुन्छ भन्ने म काम गर्ने अस्पतालको केस रिपोर्ट हेरेर थाहा पाइन्छकि साधारण रुघाखोकी भन्दा धेरै समस्या हुँदैन ।
त्यसमा समयमै हेरचाह वा उपचार भएन भने रोगले धेरै गाल्दै लगेपछि समस्या त निम्त्याउँछ तर बृद्ध वा अन्य रोग लागेका व्यक्तिलाई जस्तो एकै हप्तामा गम्भिर अवस्थामा पुर्याउँदैन ।
तर बृद्ध या अरुरोगबाट ग्रसितहरुलाई कोरोना संक्रमण भयो भने यसको औषधि नभएको हुँदा मृत्यु समेत हुने सम्भावना रहन्छ ।
त्यसैले हामीले यो रोग लाग्नबाट बच्ने मात्र नभई कतै आफुलाई लागेको सम्भावना देखियो भने अरुलाई नसार्ने भावनाले सुरक्षा अपनाउनु पर्छ ।
खासगरि युवाहरुमा कोरोना भाईरसको संक्रमण भएपछि पनि लक्षण देखिन समय लाग्ने र कम लक्षण देखिने गरेको छ ।
कोरोना संक्रमण भएको पुष्टि वा संकेतहरु देखिएपछि युवाहरुले अपनाउनुपर्ने महत्वपूर्ण पक्ष भनेको युवा बाट युवा र युवाबाट बृद्दमा नसर्ने कुरामा ध्यान पुर्याउनु नै हो ।
कोरोना भाईरसको संक्रमण, अवस्था, उपचार र भईरहेको अभ्यासबारे चिकित्सक सन्दिप शाक्यको लेख हरेक साता आईतबार प्रकाशित हुनेछ ।
...
तपाईहरु आफ्ना जिज्ञासा र समस्या कमेण्टमा लेख्न वा ईमेल गर्नसक्नुहुनेछ ।
हामी तपाईको जिज्ञासालाई डा. सन्दिप शाक्यबाट सम्वोधन गरेर समाधान गर्ने प्रयास गर्नेछौं ।