(Japan) 2 nd April | 2026 | Thursday | 1:37:01 PM || (Nepal) 10:22:01 AM
 
 


चिनियाँ राष्ट्रपती सी चिनफिङ दसैं लगत्तै नेपाल भ्रमणमा आउने !

  POSTED ON : Friday, 09 August, 2019 | Views : 5372

चिनियाँ राष्ट्रपती सी चिनफिङ दसैं लगत्तै नेपाल भ्रमणमा आउने !


काठमाडौं, नेपाल ।  

चीनका राष्ट्रपति सी चिनफिङ दसैं लगत्तै दुई दिने नेपाल भ्रमणमा आउने अन्तिम तयारी सुरु गरिएको छ ।

२३ बर्षपछि हुन लागेको चीनका राष्ट्रपति सी को भ्रमणका लागि नेपाली अधिकारीहरुले आन्तरिक तयारीलाई तिब्र पारेका छन् ।

जानकारी अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अक्टोबर १२ 'असोज २५ गते' भारतको उत्तर प्रदेश बनारसमा भेटवार्ता तय गरिएको छ। भारत भ्रमणपछि सी नेपाल भ्रमणमा आउने तयारी दुईदेशका अधिकारीहरुबिच भएको छ ।

दोस्रो कार्यकाल सम्हालिरहेको चीनका राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण हुन लागेको हो । पहिलो कार्यकालमै नेपाल भ्रमणमा आउने तयारी भएपनि अन्तिम समयमा रद्द भएको थियो । चीनसँग सीमा जोडिएका १४ छिमेकी देशमध्ये दक्षिण एशियामा नेपाल मात्रै राष्ट्रपति सीले भ्रमण गर्न बाँकी मुलुक हो ।

भुटानसँग चीनको कुटनीतिक सम्बन्ध नै नभएकाले राष्ट्रपतिको भ्रमणको संभावना देखिंदैन । बाँकी सबै दक्षिण एसियाली देशमा सीले भ्रमण गरिसकेका छन् ।

पहिलो कार्यकालमै विश्वका करिब ६० देशको भ्रमण गरिसकेका सीलाई रणनीतिक रुपमा महत्वपूर्ण मानिने नेपालको भ्रमण गर्नुपर्ने दबाब बेइजिङमै रहेको ठानिन्छ । त्यसैले बेइजिङले नेपालमा नेकपाको दुई तिहाई बहुमतको बलियो सरकार भएको समयमा राष्ट्रपति सीको भ्रमण तयारीलाई अघि बढाएको विश्वास गरिएको छ ।

भारतले जम्मु कस्मिरको अधिकार खोस्दै सो क्षेत्रमा विवाद बढाएपछि चीनसँगको सम्वन्ध केही चिसिएको अवस्थामा यो मुद्दा चर्किंदै गएर भारत–पाकिस्तान तनाव बढेको अवस्थामा सीको भारत भ्रमण रद्द हुनपनि सक्ने देखिन्छ । यद्यपी सि को भारत भ्रमण रद्द भएपनि नेपाल भ्रमण भने नरोकिने अनुमान गरिएको छ ।

काठमाडौंमा राष्ट्रपति सीकोे भ्रमणको तयारी सुरु भइसकको छ । गत जुलाई ६ ९असार २१ गते० निर्वासित तिब्बती शरणार्थीका धर्मगुरु दलाई लामाको जन्मोत्सव काठमाडौंमा मनाउन नेपाल सरकारले रोक लगाउँदै सि को नेपाल भ्रमण पूर्वको तयारी थालेको छ ।

सोही समयमा जुलाई १–३ मा विश्व आर्थिक मञ्चमा भाग लिन चीनको दालियन पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली बेइजिङमा राजनीतिक भेटवार्तामा व्यस्त भए। उनी बेइजिङमै रहेको बेला काठमाडौंमा दलाई लामाको जन्मोत्सव मनाउन रोक लगाउने निर्णय नेपाल सरकारले गरेको थियो ।

विश्व आर्थिक मञ्चमा नेपालको भूमिका खासै नभएको अवस्थामा मन्त्री ज्ञावालीको चीन भ्रमणलाई सीको नेपाल भ्रमण गराउने तयारीका रुपमा हेरिएको थियो ।

सिको नेपाल भ्रमणको तयारीकै लागि भदौ दोस्रो साता गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा जाने बुझिएको छ । त्यसअघि चिनियाँ सुरक्षा अधिकारीहरूको एउटा टोली नेपाल आउने भएको छ ।

राष्ट्रपति सीको भ्रमणअघि चीनका विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने सम्भावना समेत रहेको बताईएको छ ।

विश्वका केही शक्तिशाली नेतामध्येका सीको भ्रमणले नेपालमा ठूलो महत्व र अर्थ राख्छ । नेपालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पभन्दा सीलाई सुरक्षा चुनौती बढी रहेको सुरक्षा विज्ञहरूको बुझाइ छ।

तिब्बती शरणार्थीले गर्न सक्ने प्रर्दशन वा आत्मदाहका घटना चीनका लागि सबभन्दा सम्वेदनशील विष्याका रुपमा लिने गरिन्छ ।

अहिलेसम्म दुई जना मात्र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका छन्। राष्ट्रपति ली स्यान न्याँन सन १९८४ मार्च २० मा नेपाल आएका थिए। त्यसको १२ वर्षपछि सन् १९९६ डिसेम्बर ४ र ५ मा राष्ट्रपति ज्याङ जमिनले नेपाल भ्रमण गरेका थिए ।

नेपालमा चीनका प्रधानमन्त्रीहरुको भ्रमण भने बाक्लै हुने गरेको छ। चाउ एनलाईले सन् १९५७ जनवरीमा पहिलो पटक नेपाल भ्रमण गरेयता चार जना चिनियाँ प्रधानमन्त्रीले नेपाल भ्रमण गरिसकेका छन् ।

प्रधानमन्त्री वेन जियाबाओले १४ जनवरी २०१२ मा पाँच घण्टाका लागि नेपालको ट्रान्जिट भ्रमण गरेका थिए ।

मित्रराष्ट्र चीनलाई सारा नेपालीले नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासमा सहयोगी देशको रुपमा मित्र देश मान्ने गरेका छन् ।