(Japan) 28 th March | 2026 | Saturday | 6:54:36 PM || (Nepal) 3:39:36 PM
 
 


जापानमा नेपालीको जनसंख्या ३ लाख पुग्यो, ५ वर्षमै झण्डै तीन गुणा वृद्धि

  POSTED ON : Saturday, 28 March, 2026 | Views : 188

जापानमा नेपालीको जनसंख्या ३ लाख पुग्यो, ५ वर्षमै झण्डै तीन गुणा वृद्धि


टोकियो, जापान ।

जापानमा नेपालीहरूको संख्या ३ लाख पार गरेको छ ।

जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार जापानमा विदेशी बासिन्दाको संख्या २०२५ को अन्त्यसम्म ४१ लाख नाघेको छ भने नेपालीहरुको संख्या ३ लाख ९ हजारभन्दा बढी पुगेको छ ।

अध्यागमन सेवा एजेन्सीका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ९.५५ ले वृद्धि भएको हो। टोकियो, ओसाका र आइची विदेशी बसोबासका मुख्य केन्द्र बनेका छन्। साथै, २०२५ मा १८७ जनाले शरणार्थी मान्यता प्राप्त गरेका छन् ।

...

पछिल्लो केही वर्षयता जापान नेपाली युवाहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । अध्ययन, रोजगारी तथा उज्ज्वल भविष्यको खोजीमा जापान आउने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ ।

उपलब्ध विवरण अनुसार सन् २०२१ यता जापानमा नेपालीहरूको संख्या तीव्र गतिमा वृद्धि भएको छ । सन् २०२१ मा करिब एक लाखको हाराहारीमा रहेको नेपाली जनसंख्या सन् २०२५ सम्म आइपुग्दा २ लाख ७० हजार नाघेको थियो । जुन संख्या अहिले ३ लाख पार गरको छ । यसले पाँच वर्षको अवधिमा नेपालीहरूको संख्या झण्डै तीन गुणाले वृद्धि भएको पुष्टि गर्दछ ।

जापानका टोकियो, ओसाका, आइची, फुकुओका लगायतका सहरहरूमा नेपालीहरूको बाक्लो बसोबास रहेको छ । विशेषगरी भाषा विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू नै जापान प्रवेशको मुख्य माध्यम बनेका छन् । यसबाहेक पछिल्ला बर्षहरुमा एसएसडब्ल्यु, सिपयुक्त कुक भिषा एवं उनिहरुसँगै आएका परिवारका सदस्यहरु ठूलो संख्यामा रहेका छन् । जापानमा अध्ययनसँगै आंशिक तथा पूर्णकालीन रोजगारीमा संलग्न हुने क्रम पनि बढ्दो छ ।

रेष्टुरेन्ट, सेवा क्षेत्र, निर्माण, कारखाना तथा कृषि क्षेत्रमा नेपालीहरूको उपस्थिति बढ्दो देखिन्छ। मेहनती र अनुशासित श्रमिकको रूपमा नेपालीहरूले जापानमा आफ्नो छुट्टै पहिचान बनाउँदै लगेका छन् ।

नेपालमा सीमित रोजगारी अवसर, न्यून आम्दानीका कारण जापानतर्फ राम्रो आयको सम्भावनाले युवाहरूलाई आकर्षित गरेको देखिन्छ । साथै, जापानको वृद्ध जनसंख्या र श्रमिक अभावले पनि विदेशी कामदारको माग बढाएको छ, जसबाट नेपालीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

यद्यपि, विद्यार्थी भिसामा जाने केही नेपालीहरूले आर्थिक तथा कामको चापका कारण समस्या भोग्ने गरेका समाचारहरू पनि बेला–बेलामा सार्वजनिक हुने गरेका छन्। त्यसैले सुरक्षित र व्यवस्थित रूपमा विदेश जानेबारे सचेत रहन सरोकारवालाहरूले सुझाव दिएका छन्।

समग्रमा, जापानमा नेपालीहरूको उपस्थिति दिनप्रतिदिन मजबुत बन्दै गएको छ भने आगामी दिनमा समेत जापानको नयाँ कडा अध्यागमन नियमका वावजुद यो संख्या अझै वृद्धि हुने अनुमान गरिएको छ । तर हालको बृद्धिद्धर भने न्यून हुनसक्ने अड्कल काड्न थालिएको छ ।