काठमाडौं, नेपाल ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने निश्चित गर्दै रास्वपाले शपथको मिति र आवश्यक तयारी थालेको छ ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले बालेनलाई प्रधानमन्त्री बनाएर शपथ गराउने मिति तय गरेको हो ।
रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने छन । वाग्लेले पार्टीका चार नेताबीच 'राजकाज'का सम्बन्धमा छलफल भएको तस्बिर सार्वजनिक गरेका छन ।
सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने छन । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा बालेन शाहले चैत १३ गते शपथ लिने तय भएको हो ।
रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।
केही दिनदेखि वरिष्ठ नेता बालेन्द्र शाह सरकार गठनको आन्तरिक तयारीमा रहेको भनिएका बेला ४ शीर्ष नेता छलफलमा जुटेका हुन् । एक नेताका अनुसार सभापति लामिछाने सहितको शीर्ष नेतृत्वसँग शाह निरन्तर छलफलमा छन् ।
निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ ।