टोकियो, जापान ।
जापान सरकारले साइकल सम्बन्धी ट्राफिक नियमहरूलाई थप कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गर्दै २०२६ अप्रिल १ देखि नयाँ 'ब्लु टिकट' प्रणाली लागू गरेको छ। यस प्रणाली अन्तर्गत अब साना–साना ट्राफिक उल्लङ्घनमा पनि तुरुन्तै जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
किन ल्याइयो नयाँ कडा नियम ?
जापानमा पछिल्ला वर्षहरूमा साइकल दुर्घटनाको संख्या बढ्दै गएको छ। विशेषगरी धेरै दुर्घटनामा साइकल चालकले नियम उल्लङ्घन गरेको तथ्य भेटिएपछि सरकारले कडा कदम चालेको हो ।
पहिले साना गल्तीमा चेतावनी मात्र दिइन्थ्यो, तर अब त्यस्ता गल्तीमा पनि सिधै जरिवाना तिराइने भएको छ ।
“ब्लु टिकट” प्रणाली के हो ?
यो प्रणाली अन्तर्गत प्रहरीले सानो ट्राफिक उल्लङ्घन गरेको अवस्थामा घटनास्थलमै जरिवाना तिराउन सक्छ, अर्थात् जरिवाना तिर्नुपर्ने बिल थमाउन सक्छ । जरिवाना तोकिएको समयभित्र तिरेमा मुद्दा अदालतसम्म पुग्दैन ।
यो नियम १६ वर्षभन्दा माथिका सबै साइकल चालक (विदेशी समेत) मा लागू हुनेछ । अर्थात् १६ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई भने यसअघिनै चेतावनीको नियम लागू हुनेछ ।
नयाँ नियमानुसारको मुख्य जरिवाना दरहरू यस्तो छ
नयाँ नियम अनुसार करिब १०० भन्दा बढी उल्लङ्घनहरूमा जरिवाना लाग्नेछ। केही प्रमुख उदाहरणहरू यस्ता छन् ।
साइकल चलाउँदै मोबाइल प्रयोग → करिब ¥१२,००० येन
ट्राफिक सिग्नल उल्लङ्घन → करिब ¥६,००० येन
गलत दिशामा साइकल चलाउने → करिब ¥६,००० येन
रोक्नुपर्ने ठाउँमा नरोकिने → करिब ¥५,००० येन
☂️ छाता बोकेर साइकल चलाउने → करिब ¥५,००० येन
इयरफोन लगाएर साइकल चलाउने → करिब ¥५,००० येन
राति बत्ती नबाल्ने → करिब ¥५,००० येन
दुई जना एउटै साइकलमा चढ्ने → करिब ¥३,००० येन
⚠️ गम्भीर उल्लङ्घनमा कडा सजाय
मदिरा सेवन गरेर साइकल चलाउने जस्ता गम्भीर अपराधमा “रेड टिकट” लागू हुनेछ
यस्तो अवस्थामा जेल सजाय वा ठूलो जरिवाना हुन सक्छ ।
सरकारको मुख्य लक्ष्य सडक सुरक्षा सुधार गर्नु र साइकल चालकलाई जिम्मेवार बनाउनु यसको लक्ष्य रहेको बताएको छ ।
नयाँ नियम लागू गरेपछि सरकारले दुर्घटना घटाउने, पैदल यात्रु तथा सवारी साधनको सुरक्षा बढाउने र
ट्राफिक नियमको पालना गराउने अपेक्षा गरेको छ ।
२०२६ अप्रिल १ देखि जापानमा साइकल चलाउँदा साना गल्ती पनि महँगो पर्न सक्छ। त्यसैले नियम पालना गर्दै सुरक्षित यात्रा गर्नु अत्यन्त आवश्यक भएको छ ।