(Japan) 8 th July | 2026 | Wednesday | 8:25:42 PM || (Nepal) 5:10:42 PM
 
 

जापानमा स्वास्थ्य बीमा कार्डको नयाँ नियम : जुलाई ३१ पछि माई नम्वर कार्ड अनिवार्य

  POSTED ON : Thursday, 09 July, 2026 | Views : 32

जापानमा स्वास्थ्य बीमा कार्डको नयाँ नियम : जुलाई ३१ पछि माई नम्वर कार्ड अनिवार्य


टोकियो, जापान ।

जापान सरकारले स्वास्थ्य बीमा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने योजनाअनुसार माई नम्वर कार्डलाई स्वास्थ्य बीमा कार्डको रूपमा प्रयोग गर्ने व्यवस्था अन्तिम चरणमा पुगेको छ । यससँगै सन् २०२६ जुलाई ३१ सम्म पुरानो स्वास्थ्य बीमा कार्ड प्रयोग गर्न पाउने अन्तिम मिति हुने सरकारले घोषणा गरेको छ ।

यसअघि सरकारले सन् २०२४ डिसेम्बरदेखि नयाँ कागजी तथा प्लास्टिक स्वास्थ्य बीमा कार्ड जारी गर्न बन्द गरेको थियो । पुराना कार्डहरू औपचारिक रूपमा सन् २०२५ डिसेम्बर १ मा नै समाप्त भएका थिए । तर, धेरै नागरिकले माई नम्वर कार्डलाई स्वास्थ्य बीमासँग दर्ता नगरेको तथा बीमा योग्यताको प्रमाणपत्र वितरणमा ढिलाइ भएका कारण सरकारले अस्थायी रूपमा पुराना कार्ड प्रयोग गर्न समय थप्दै आएको थियो ।

सुरुमा यो अवधि सन् २०२६ मार्च सम्मका लागि तोकिएको थियो । पछि फेरि बढाएर जुलाई ३१, २०२६ सम्म कायम गरिएको थियो ।

जापानका स्वास्थ्य मन्त्री उएनो ले मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जुलाई ३१ पछि कुनै पनि थप म्याद नदिइने स्पष्ट गरेका छन् । यसको अर्थ अगस्ट १, २०२६ देखि नयाँ व्यवस्था पूर्ण रूपमा लागू हुनेछ ।

सरकारका अनुसार यसपटकको समयसीमा अन्तिम भएकाले सबै स्वास्थ्य बीमा सदस्यहरूले समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।


माई नम्वर कार्ड नभए के हुन्छरु ?

यदि कुनै व्यक्तिसँग माई नम्वर कार्ड छैन भने

वा माई नम्वर कार्ड भएर पनि स्वास्थ्य बीमासँग लिंक गरिएको छैन,

वा अस्पतालले अनलाइन प्रणालीमार्फत बीमा योग्यताको पुष्टि गर्न सकेन

भने उपचार गराउँदा सुरुमै सम्पूर्ण १०० प्रतिशत उपचार खर्च आफैं तिर्नुपर्ने अवस्था आउन सक्छ ।

पछि बीमा योग्य भएको प्रमाण पेश गरेर रकम फिर्ता लिन सकिने अवस्था हुन सक्छ, तर तत्काल उपचारका बेला पूर्ण रकम तिर्नुपर्ने जोखिम रहने सरकारको चेतावनी छ ।


‘Certificate of Eligibility’ के हो?

सरकारले माई नम्वर कार्ड प्रयोग नगर्ने वा दर्ता नगराएका व्यक्तिका लागि ‘Certificate of Eligibility’ (資格確認書) र शिकाकु खाकुनिन्सो उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसलाई सम्बन्धित स्वास्थ्य बीमा संस्थाले निःशुल्क पठाउनेछ।

अधिकतम ५ वर्षसम्म मान्य हुनेछ ।

अस्पताल तथा क्लिनिकमा पुरानो स्वास्थ्य बीमा कार्डसरह प्रयोग गर्न सकिनेछ ।

यसका लागि छुट्टै आवेदन आवश्यक नपर्ने र सम्बन्धित बीमा संस्थाले स्वतः पठाउने व्यवस्था गरिएको छ ।

जापान सरकारले स्वास्थ्य सेवा प्रणालीलाई डिजिटल बनाउने, प्रशासनिक प्रक्रिया सरल बनाउने तथा बीमा जानकारी छिटो पुष्टि गर्ने उद्देश्यले माई नम्वर कार्डलाई स्वास्थ्य बीमा कार्डको रूपमा प्रयोग गर्न लागेको बताएको छ ।

यसो गर्दा अस्पतालमा कागजी प्रक्रिया घट्ने,

औषधि तथा उपचारको इतिहास सुरक्षित रूपमा व्यवस्थापन हुने,

विभिन्न अस्पतालबीच आवश्यक स्वास्थ्य जानकारी सहज रूपमा आदानप्रदान गर्न सकिने,

र प्रशासनिक खर्च कम हुने अपेक्षा गरिएको छ ।

तर, नयाँ प्रणाली लागू भएपछि पनि धेरै नागरिकले माई नम्वर कार्ड स्वास्थ्य बीमासँग जोड्न ढिलाइ गरेका कारण सरकारले पटक–पटक समय थप्नुपरेको थियो ।

सरकारी तथ्यांक अनुसार सन् २०२६ जनवरीसम्म माई नम्वर हेल्थ ईन्स्योरेन्स कार्डको दर्ता दर ६४.६२ प्रतिशत मात्र पुगेको थियो । यही कारण बीमा योग्यताको प्रमाणपत्र वितरणमा ढिलाइ भएको र पुराना कार्ड प्रयोगको अवधि अस्थायी रूपमा बढाइएको थियो ।


जापानमा बस्ने नेपालीहरूले के गर्नुपर्छ ?

जापानमा बसोबास गर्ने नेपालीहरूका लागि पनि यो नियम समान रूपमा लागू हुन्छ । त्यसैले आफ्नो माई नम्वर कार्ड स्वास्थ्य बीमासँग लिंक भएको छ कि छैन भन्ने एकपटक अवश्य जाँच गर्नुहोस् ।

लिंक नभएको भए नगर कार्यालय अर्थात सिटि वार्ड अफिस वा सम्बन्धित स्वास्थ्य बीमा संस्थामा सम्पर्क गरी प्रक्रिया पूरा गर्नुहोला ।

यदि माई नम्वर कार्ड प्रयोग नगर्ने हो भने, आफ्नो ठेगानामा सर्टिफिकेट अफ इलिजिबिलिटि (資格確認書) आएको छ कि छैन भन्ने सुनिश्चित गर्नुहोस् ।

नयाँ प्रमाणपत्र प्राप्त नभएसम्म अस्पताल जाँदा आवश्यक कागजात साथमा राख्नु उपयुक्त हुन्छ ।

जुलाई ३१, २०२६ पछि पुरानो स्वास्थ्य बीमा कार्ड प्रयोग गर्न नपाइने भएकाले समयमै आवश्यक प्रक्रिया पूरा गर्न जापान सरकारले सबै स्वास्थ्य बीमा सदस्यलाई आग्रह गरेको छ ।