(Japan) 28 th March | 2026 | Saturday | 9:32:26 PM || (Nepal) 6:17:26 PM
 
 


जापानमा मदिरा सेवनपछि आक्रमण गरि जापानी बृद्ध घाइते बनाउने नेपाली युवा पक्राउ

  POSTED ON : Sunday, 29 March, 2026 | Views : 170

जापानमा मदिरा सेवनपछि आक्रमण गरि जापानी बृद्ध घाइते बनाउने नेपाली युवा पक्राउ


साप्पोरो, जापान ।

जापानको होक्काइदो अन्तर्गत पर्ने साप्पोरो शहरमा मदिरा सेवनपछि हिंसात्मक तथा अभद्र व्यवहार गरेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त घटना मार्च २६ तारिख साँझ साप्पोरोको हिगासी–कु क्षेत्रमा भएको हो।

प्रहरीका अनुसार पक्राउ परेका युवक २५ वर्षीय नेपाली नागरिक हुन् । अत्यधिक मदिरा सेवनका कारण नियन्त्रण गुमाएका उनले स्थानीय ७६ वर्षीय एक वृद्धको घरको आँगनमा प्रवेश गरी आफूसँग रहेको सुटकेसले प्रहार गरेका थिए ।

उक्त आक्रमणबाट वृद्धको हातको औँलामा सामान्य चोट लागेको र रगत बगेको बताइएको छ। घटना हुनुअघि नै “एक व्यक्ति अपार्टमेन्ट क्षेत्रमा हल्ला गर्दै उपद्रो मच्चाइरहेको छ” भन्ने सूचनाका आधारमा स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा ती युवकले अझै असामान्य व्यवहार देखाइरहेका थिए । स्थानीयहरूले उनलाई नियन्त्रणमा लिन खोज्दा उनले नजिकै रहेको सुटकेस प्रयोग गरी आक्रमण गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार पीडित वृद्ध र अभियुक्तबीच कुनै पनि प्रकारको पहिलेदेखिको चिनजान थिएन ।

पक्राउ परेका युवकले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा आफू अत्यधिक मदिराको नशामा रहेको र के भएको हो भन्ने कुरा सम्झन नसकेको बताएका छन् । उनले आफूमाथि लागेको आरोप भने अस्वीकार गरेका छन् । हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

यस घटनालाई जापानी प्रहरीले ‘आक्रमण तथा चोट पुर्‍याउने’ प्रकृतिको अपराधका रूपमा लिएर अनुसन्धान अगाडि बढाएको छ । घटनाले स्थानीय समुदायमा त्रास फैलाएको छ भने विदेशी नागरिकहरूको आचरणप्रति पनि चासो बढाएको छ ।

विदेशमा यस्ता गतिविधिले व्यक्तिगत करियर मात्र नभई समग्र नेपाली समुदायको छविमा समेत गम्भीर नकारात्मक असर पार्न सक्छ । त्यसैले विदेशमा बसोबास गर्ने सबै नेपालीहरूलाई कानुनको पालना गर्दै संयमित, जिम्मेवार र सभ्य व्यवहार गर्न आग्रह गर्दछौं ।