टोकियो, जापान ।
टोकियोमा भएको एक हिंसात्मक घटनाले स्थानीय बासिन्दा त्रसित बनेका छन् । फुस्सा सिटीको कामिहिरा क्षेत्रमा अप्रिल २९ तारिख बिहान करिब ७ः२० बजे एक अज्ञात पुरुषले हम्मर र चक्कु प्रयोग गरी आक्रमण गरेपछि ठूलो हलचल मच्चिएको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार ३० देखि ४० वर्षबीचका देखिने ती व्यक्तिले सडकमा रहेका एक किशोरमाथि अचानक आक्रमण गर्दै हम्मरले टाउकोमा प्रहार गरेका थिए। प्रहारपछि किशोर गम्भीर रूपमा घाइते भएका थिए र उनको शरीरबाट अत्यधिक रक्तस्राव भएको बताइएको छ। उनलाई तत्कालै नजिकको अस्पतालमा लगिएको थियो ।
घटनाको सूचना पाएपछि घटनास्थलमा पुगेका प्रहरी र अन्य उद्धारकर्मीहरूलाई पनि ती आक्रमणकारीले आक्रमण प्रयास गरेका थिए। उनले “टियर स्प्रे” ९अश्रु ग्यास जस्तो रसायन० प्रयोग गर्दै प्रहरीमाथि समेत आक्रमण गरेपछि अवस्था झन् तनावपूर्ण बनेको थियो। यस घटनामा प्रहरी अधिकारीसहित कम्तीमा ७ जना घाइते भएका छन्। तर प्रारम्भिक जानकारी अनुसार सबै घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
आक्रमणपछि ती व्यक्ति आफ्नो घरभित्र पसेकामा उनलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको बताइएको छ । उनीसँग ‘सर्भाइभल नाइफ’ रहेको पुष्टि भएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिनुअघि उनको घर वरपरको क्षेत्र पूर्ण रूपमा घेराबन्दी ९कर्डन० गरी सुरक्षा कडा बनाउनुका साथै स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न निर्देशन दिइएको थियो ।
घटनापछि आसपासका विद्यालय र सर्वसाधारणमा त्रास फैलिएको थियो भने अभिभावकहरू आफ्ना बालबालिकाको सुरक्षालाई लिएर चिन्तित भएका थिए । जापानजस्तो शान्त मानिने देशमा यस प्रकारको हिंसात्मक घटना विरलै हुने भएकाले यसले सुरक्षा व्यवस्थामाथि प्रश्न समेत उठाएको छ।
प्रहरीले आक्रमणकारीको पहिचान, उद्देश्य र पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनासम्बन्धी विस्तृत जानकारी आउन बाँकी रहेको छ।