(Japan) 30 th April | 2026 | Thursday | 9:37:58 AM || (Nepal) 6:22:58 AM
 
 


जापानमा चिडियाखानाका कर्मचारीले श्रीमतीको शव चिडियाखाना भित्र फालेको सनसनीपूर्ण बयान

  POSTED ON : Thursday, 30 April, 2026 | Views : 138

जापानमा चिडियाखानाका कर्मचारीले श्रीमतीको शव चिडियाखाना भित्र फालेको सनसनीपूर्ण बयान


टोकियो, जापान ।

जापानको असाहिकावा स्थित असाहियामा चिडियाखानामा सनसनीपूर्ण घटना सार्वजनिक भएको छ।


चिडियाखानाका एक कर्मचारीले आफ्नै श्रीमतीको शव चिडियाखानाभित्र रहेको इन्सिनरेटरमा जलाएको आशंका गर्दै प्रहरीसमक्ष बयान दिएपछि ठूलो हंगामा मच्चिएको छ ।


जापानको लोकप्रिय चिडियाखाना मध्येको एक असाहियामा कार्यरत एक कर्मचारीमाथि आफ्नै श्रीमतीको शव चिडियाखानाको इन्सिनरेटर ९जलाउने भट्टी० भित्र फालेको आरोप लागेपछि उक्त चिडियाखाना केही दिनका लागि बन्द गरिएको छ ।


उत्तरी सहर असाहिकावामा रहेको असाहियामा चिडियाखान ले गर्मीयामको सिजन सुरु गर्ने तयारीमा बुधबारदेखि सर्वसाधारणका लागि खुल्ने योजना बनाएको थियो । जापानको व्यस्त बिदा अवधि गोल्डेन वीक लाई लक्षित गर्दै तीन साताको मर्मतपछि चिडियाखाना सञ्चालनमा ल्याउने तयारी गरिएको थियो ।


तर, स्थानीय सञ्चारमाध्यमका अनुसार एक कर्मचारीले प्रहरीसमक्ष आफ्नी श्रीमतीको शव चिडियाखानाभित्र रहेको इन्सिनरेटरमा नष्ट गरेको बयान दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। त्यसपछि चिडियाखाना परिसरमै व्यापक खोजी कार्य गरिएको छ।


सामान्यतया उक्त इन्सिनरेटर चिडियाखानामा मरेका जनावरहरूको शव व्यवस्थापन गर्न प्रयोग हुने गरेको बताइएको छ ।


सन् १९६७ मा स्थापना भएको असाहियामा चिडियाखाना जापानकै लोकप्रिय चिडियाखानामध्ये एक हो, जहाँ अनौठा संरचनाहरू—जस्तै काँचका डोम र माथिबाट हेर्न मिल्ने पिंजडाहरू—मार्फत दर्शकहरूले जनावरलाई नजिकबाट अवलोकन गर्न सक्छन्। यहाँ प्रत्येक वर्ष १० लाखभन्दा बढी पर्यटक आउने गर्दछन् ।


चिडियाखाना अप्रिल ८ देखि नियमित मर्मतसम्भारका लागि बन्द थियो र अब अनुसन्धानका कारण शुक्रबारसम्म बन्द रहने जनाइएको छ । साथै, आवश्यकता परेमा पूर्वसूचना बिना नै थप समयका लागि पनि बन्द हुन सक्ने बताइएको छ ।


स्थानीय रिपोर्ट अनुसार ती कर्मचारीकी श्रीमती हराएको उजुरी उनका एक साथीले प्रहरीमा दिएपछि अनुसन्धान सुरु गरिएको थियो ।


यस घटनाप्रति प्रतिक्रिया दिँदै असाहिकावा सहरका मेयर हिरोसुके इमाजुले पत्रकार सम्मेलनमा यसलाई “अभूतपूर्व संकट” को रूपमा वर्णन गरेका छन्।

उनले भने, “यस्तो घटना कसैले कल्पना पनि गर्न सकेन। म अत्यन्तै चिन्तित छु र यो अवस्था अभूतपूर्व संकट जस्तो भएको छ।”


यद्यपि, उनले स्थिति सामान्य भएपछि पुनः चिडियाखाना खोल्न तयारी भइरहेको र सम्भव भएसम्म धेरै आगन्तुकलाई स्वागत गर्ने अपेक्षा गरिएको पनि बताएका छन्।