(Japan) 27 th March | 2026 | Friday | 5:31:04 PM || (Nepal) 2:16:04 PM
 
 


प्रधानमन्त्रीलाई झुक्याएर मेनवापरसँग साँठगाँठ गर्ने सचिव कृष्णहरी पुस्करमाथि कारवाही

  POSTED ON : Tuesday, 30 December, 2025 | Views : 648

प्रधानमन्त्रीलाई झुक्याएर मेनवापरसँग साँठगाँठ गर्ने सचिव कृष्णहरी पुस्करमाथि कारवाही


काठमाडौं, नेपाल ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणसम्बन्धी विवादमा मुछिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करको सरुवा भएको छ । उनलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

सचिव पुस्करले प्रधानमन्त्री सुशीला कार्कीलाई झुक्याएर स्वास्थ्य परीक्षणको शुल्क वृद्धिसम्बन्धी निर्णयमा हस्ताक्षर गरेको आरोप लागेको छ । सोही प्रकरणमा उनलाई कारबाहीस्वरूप उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । मेडिकल व्यवसायीको स्वार्थमा लागेर उनले सो निर्णय गराएको आरोप लागेको छ । 

प्रधानमन्त्री कार्कीले गत २० कात्तिकमा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको नवीकरण तथा सूचीकरणसम्बन्धी एक निर्णयमा हस्ताक्षर गरेकी थिइन् । त्यसैभित्र स्वास्थ्य परीक्षणको शुल्क प्रतिव्यक्ति तीन हजार रुपैयाँ बढाउने निर्णय गरिएको थियो ।

सो विषय बाहिरिएपछि हालै मन्त्रालयले शुल्क बढाउने निर्णय खारेज गरेको छ । यस प्रकरणमा सचिव पुस्करको भूमिकामाथि समेत छानबिन भइरहेको छ । व्यवसायीलाई फाइदा हुने र कामदारमाथि आर्थिक भार पार्ने निर्णय गराउन भूमिका खेलेकोमा उनीमाथि छानबिन अघि बढेको हो । श्रम मन्त्रालयमा भने राष्ट्रपति कार्यालयमा कार्यरत दीपक काफ्लेलाई जिम्मेवारी दिइएको छ ।