(Japan) 8 th September | 2026 | Tuesday | 6:18:58 PM || (Nepal) 3:03:58 PM
 
 


जापानबाट साम्प्रदायिक दङ्गा भड्काउने टिकटकर नेपाल गएको एक हप्तामै पक्राउ

  POSTED ON : Tuesday, 08 September, 2026 | Views : 184

जापानबाट साम्प्रदायिक दङ्गा भड्काउने टिकटकर नेपाल गएको एक हप्तामै पक्राउ


टोकियो, जापान ।
जापानमा रहँदै सामाजिक सञ्जालमार्फत साम्प्रदायिक विद्वेष र धार्मिक हिंसा भड्काउने सामग्री फैलाएको आरोपमा सुनसरीका ३२ वर्षीय अरुणकुमार मेहता पक्राउ परेका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–४ निवासी मेहता जापानबाट नेपाल फर्किएको एक हप्तामै इनरुवाबाट पक्राउ परेका हुन्। उनीमाथि फेसबुक र टिकटकमार्फत हिन्दु–मुस्लिम समुदायबीच तनाव बढाउने तथा उत्तेजक अभिव्यक्ति सार्वजनिक गरेको आरोप छ।
जिल्ला अदालत सुनसरीले थुनछेक बहसपछि मेहतालाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। अदालतले उनी तत्काल निर्दोष भन्न नसकिने भए पनि हाललाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको जनाएको छ।
अदालतमा मेहताले आफूले भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको स्वीकार गरेका छन्। तर, धार्मिक विद्वेष फैलाउने वा समाजमा अशान्ति मच्चाउने उद्देश्य नरहेको उनको दाबी छ।

जापानबाट साम्प्रदायिक प्रचार गरिरहेको आरोप लागेका अरुणकुमार मेहता साउन अन्तिम साता छुट्टीमा नेपाल फर्किएका थिए। घरायसी कामका लागि २०८३ भदौ ५ गते सुनसरीको इनरुवा बजार पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सोही दिन देवानगञ्ज–१ निवासी विवेककुमार मेहताले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दर्ता गरेका थिए।

अदालतमा दिएको बयानमा मेहताले फेसबुक र टिकटकमा आफैँले भिडियो बनाएर अपलोड गरेको स्वीकार गरेका छन्। उनले जापानमा ज्याला मजदुरी गर्दै आएको र गाउँमा हिन्दु–मुस्लिम विवादका क्रममा आफ्ना आफन्त मारिएको भन्ने हल्ला सुनेपछि आक्रोशमा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको बताएका छन्। यद्यपि, धार्मिक विद्वेष फैलाउने वा समाजमा अशान्ति मच्चाउने आफ्नो उद्देश्य नरहेको उनको जिकिर छ।

यसैबीच, अदालतले मेहताको साथबाट बरामद भएको आईफोन १६ प्रो म्याक्स र सिमकार्ड मुद्दाको अन्तिम किनारा नलागेसम्म सुरक्षित राख्न आदेश दिएको छ। साथै, जाहेरीवाला तथा घटनासँग सम्बन्धित व्यक्तिहरूलाई आगामी सुनुवाइमा उपस्थित गराई बकपत्र गराउन पनि निर्देशन दिइएको छ। मुद्दाको थप कानुनी प्रक्रिया जारी रहेको छ।