(Japan) 13 th March | 2026 | Friday | 8:44:57 PM || (Nepal) 5:29:57 PM
 
 


३ अर्ब बढिको भ्रष्टाचारमा नेपाली कांग्रेसका नेता मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय मागदाबी

  POSTED ON : Friday, 16 May, 2025 | Views : 912

३ अर्ब बढिको भ्रष्टाचारमा नेपाली कांग्रेसका नेता मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय मागदाबी


काठमाडौं, नेपाल ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अनुसन्धानले १७ वर्ष कैद सजाय दाबी सहितको मुद्वा दायर गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ भ्रष्टाचार पाइएपछि सोबराबरको बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 


अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १(ज) अनुसार सजाय माग गरेको छ । सो दफामा एक करोडभन्दा धेरै बिगो भएको मुद्दामा १० देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ। 


त्यस्तै, उनीविरुद्ध दफा २४ को अभियोग पनि लिइएको छ। जसमा राष्ट्रपतिबाट नियुक्त हुने पदाधिकारीलाई थप तीन वर्ष कैद सजाय हुने प्रावधान छ । जसअनुसार उनीविरुद्ध तीन अर्ब २१ करोड जरिवाना १७ वर्षसम्म कैद सजाय माग गरिएको छ। उनीसहित १६ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

उता भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाएका छन । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बन भएका हुन्।

टेरामक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।