टोकियो, जापान ।
जापान सरकारले आफ्नो राष्ट्रिय तेल भण्डारबाट थप तेल सार्वजनिक रूपमा बजारमा ल्याउने भएको छ । स्रोतहरूका अनुसार यो निर्णय मे महिनाको सुरुआतदेखि नै लागू हुन सक्नेछ, जसअन्तर्गत करिब २० दिनको घरेलु खपत बराबरको तेल बजारमा ल्याइने सम्भावना रहेको छ।
यसअघि जापानले गत महिना नै दुई चरणमा तेल भण्डार प्रयोगमा ल्याइसकेको छ।
पहिलो चरणमा करिब ४५ दिन बराबरको तेल निकासा गरिएको थियो।
दोस्रो चरणमा थप ३० दिन बराबरको तेल बजारमा पठाइएको थियो।
यी कदमहरू मुख्यतः अन्तर्राष्ट्रिय बजारमा उत्पन्न आपूर्ति संकट र मूल्य वृद्धि नियन्त्रण गर्न लक्षित थिए।
हालको अवस्था अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि ईन्धनमा विश्वभर संकट छाएको छ । मध्यपूर्वमा बढ्दो तनावले तेल आपूर्तिमा अनिश्चितता ल्याएको छ, जसको प्रत्यक्ष असर जापानजस्ता ऊर्जा आयातमा निर्भर मुलुकहरूमा परेको छ।
जापान विश्वकै ठूलो तेल आयात गर्ने देशमध्ये एक भएकाले यस्तो परिस्थितिमा थप दबाबमा परेको छ।
तनाव सुरु हुनु अघि जापानसँग करिब २५४ दिन बराबरको तेल भण्डार रहेको बताइएको छ। यही ठूलो भण्डारण क्षमताका कारण जापानले आपतकालीन अवस्थामा बजार स्थिर राख्न सक्रिय भूमिका खेल्न सकिरहेको छ।
यसपटकको सम्भावित तेल निकासाका लागि अन्तर्राष्ट्रिय उर्जा एजेन्सी सँग समन्वय गर्नुपर्ने हुन सक्छ। एजेन्सी सदस्य राष्ट्रहरूले सामूहिक रूपमा ऊर्जा संकट समाधान गर्न संयुक्त कदम चाल्ने प्रचलन रहेको छ।
जापान सरकारले बजारमा तेल आपूर्ति सहज बनाउने, मूल्य वृद्धि नियन्त्रण गर्ने तथा ऊर्जा सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले थप भण्डार उपयोग गर्ने तयारी गरिरहेको देखिन्छ। मध्यपूर्वमा जारी तनाव कायमै रहेमा यस्ता कदमहरू अझै बढ्न सक्ने अनुमान गरिएको छ।