(Japan) 3 rd July | 2026 | Friday | 11:05:59 AM || (Nepal) 7:50:59 AM
 
 

रोनाल्डो र गोन्कालो रामोस चम्किँदा पोर्चुगल क्रोएसियालाई २–१ ले हरायो, अबको भिडन्त स्पेनसँग

  POSTED ON : Friday, 03 July, 2026 | Views : 184

रोनाल्डो र गोन्कालो रामोस चम्किँदा पोर्चुगल क्रोएसियालाई २–१ ले हरायो, अबको भिडन्त स्पेनसँग


टोकियो, जापान ।

फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अन्तिम समयमा गोन्कालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगलले कठिन जित निकाल्न सफल भयो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि ६८औँ मिनेटमा भिडियो सहायक रेफ्री मार्फत पेनाल्टी पाएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेट सकिनै लाग्दा खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिएको थियो । तर इन्जुरी समयको चौथो मिनेटमा राफाएल लेआओको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले हेडमार्फत विजयी गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए ।

खेलभर दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए । पोर्चुगलले केहि गोलको मौका पाउँदा बारमा प्रहार गरेको थियो भने क्रोएसियाका केही उत्कृष्ट अवसर गोलकिपर डियोगो कोस्टाले बचाएका थिए । भिएआर निर्णय र अफसाइड विवादले पनि खेललाई थप रोमाञ्चक बनाएको थियो।

यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसको सम्भावित प्रतिद्वन्द्वी स्पेन हुनेछ । स्पेनले यसअघि अस्ट्रियालाई ३–० ले हराउँदै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ।