फुकुओका, जापान ।
जापानको सम्भवतः सबैभन्दा पुरानो नेपाली सामाजिक संस्था फुकुओका नेपाल सोसाइटीले यस वर्ष पनि नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज को अवसरमा ‘तीज धमाका २०२६’ आयोजना गर्ने भएको छ।
संस्थाले विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको तीज विशेष कार्यक्रमलाई यस वर्ष अझ भव्य र आकर्षक बनाउने तयारी गरेको जनाएको छ ।
यस वर्षको कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालकी चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार सहभागी हुने भएकी छन् । कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू ‘अरेली काडैले मलाई’, ‘रुकुमै कोट’, ‘गलबन्दी’, ‘सोल्टीजी बजारमा’, ‘कुरा बुझ्न पर्छ’, ‘घर कहाँ हो बहिनीको’, ‘लाहुर जाने रेलैमा’, ‘दर्शन गरे हल्का निहुरेर’, ‘रेलैमा’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
‘तीज धमाका २०२६’ १२ सेप्टेम्बर २०२६ शनिबार फुकुओकास्थित नामिकी स्क्वायर हलमा आयोजना हुनेछ। सोही दिन अन्य कार्यक्रम तय गरिसकेका व्यक्ति तथा संस्थाहरूप्रति हुन सक्ने असुविधाका लागि आयोजकले क्षमायाचना समेत व्यक्त गरेको छ ।
कार्यक्रमको टिकट, प्रवेश शुल्क तथा अन्य विस्तृत जानकारी भने छिट्टै सार्वजनिक गरिने फुकुओका नेपाल सोसाइटीले जनाएको छ ।
साथै, जापानका अन्य शहरहरूमा पनि यस्तै तीज विशेष कार्यक्रम आयोजना गर्न इच्छुक नेपाली संघ–संस्था तथा समूहहरूलाई आवश्यक समन्वय र सहकार्यका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ।
संस्थाका अध्यक्ष दिपक बिकेले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफ्नो परिवार, साथीभाइ तथा आफन्तसँग कार्यक्रममा सहभागी भई नेपाली संस्कृति र तीज पर्वलाई भव्य रूपमा मनाउन हार्दिक निमन्त्रणा दिएका छन् ।
कार्यक्रम विवरण:
* मिति: १२ सेप्टेम्बर २०२६ (शनिबार)
* स्थान: नामिकी स्क्वायर हल (Namiki Square Hall), फुकुओका