टोकियो, जापान ।
जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा खस्किएर १६१ येनभन्दा माथि पुगेपछि जापान सरकारले बजार अवस्थामाथि नजिकबाट निगरानी गरिरहेको जनाएको छ । शुक्रबार वित्तमन्त्री सात्सुकी कातायामाले आवश्यक परे सरकार निर्णायक कदम चाल्न तयार रहेको चेतावनी दिएकी छन् ।
न्यूयोर्क बजारमा बिहीबार अपराह्न येनको मूल्य एक अमेरिकी डलर बराबर १६१.८० येन सम्म पुगेको थियो, जुन सन् १९८० को दशकयताकै सबैभन्दा कमजोर स्तर नजिक मानिएको छ । त्यसपछि शुक्रबार टोकियो बजारमा केही सुधार आए पनि येन अझै कमजोर अवस्थामा रहेको छ ।
जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि कमजोर येनको प्रभाव प्रत्यक्ष रूपमा महसुस हुन थालेको छ । जापानमा काम गरेर नेपाल पैसा पठाउने नेपालीहरूले उही रकम येनमा कमाउँदा नेपालमा रूपैयाँमा प्राप्त हुने रकम घट्न थालेको छ । विशेषगरी रेमिट्यान्समा निर्भर परिवारहरू यसबाट प्रभावित हुन सक्छन् । बिहिबार जापानी बजारमा नेपाली एक लाख रुपैयाँको लागि झण्डै १ लाख ७ हजार जापानी येन चाहिएको थियो ।
अर्कोतर्फ, जापानमा अध्ययनरत नेपाली विद्यार्थी तथा कामदारहरूका लागि विदेशबाट सामान आयात हुने वस्तु, इन्धन तथा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्न सक्ने चिन्ता पनि देखिएको छ । कमजोर येनका कारण आयात महँगो हुने भएकाले जापानभित्रको महँगी थप बढ्न सक्ने विश्लेषण गरिएको छ ।
यसैबीच बैंकअफ जापानले हालै ब्याजदर १ प्रतिशत पुर्याए पनि त्यसले येनलाई उल्लेखनीय रूपमा बलियो बनाउन सकेन। बजार विश्लेषकहरूका अनुसार अमेरिकी ब्याजदर बढ्न सक्ने अपेक्षाले पनि येनमाथि थप दबाब सिर्जना गरिरहेको छ।
यदि येन अझ कमजोर बन्दै गएर अघिल्लो हस्तक्षेप भएको स्तर पार गर्छ भने जापान सरकारले पुनः मुद्रा बजारमा हस्तक्षेप गर्न सक्ने सम्भावना रहेको छ । नेपाली समुदायका लागि अहिलेको अवस्था विशेष चासोको विषय बनेको छ, किनकि यसले उनीहरूको बचत, रेमिट्यान्स र दैनिक खर्च सबैमा प्रभाव पार्न थालिसकेको छ ।