टोकियो, जापान ।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको तीनदिने भारत भ्रमणका क्रममा भारत र जापानबीच कृत्रिम बुद्धिमत्ता (AI), रक्षा, ऊर्जा, महत्वपूर्ण खनिज, पूर्वाधार तथा आर्थिक सुरक्षा लगायतका क्षेत्रमा ऐतिहासिक सहमति भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको १६औँ भारत–जापान वार्षिक शिखर सम्मेलनपछि दुवै देशले आफ्नो ‘विशेष रणनीतिक तथा विश्वव्यापी साझेदारी’लाई नयाँ उचाइमा पुर्याउने घोषणा गरेका छन् ।
भेटवार्तापछि दुई देशले आर्थिक सुरक्षा, ऊर्जा सहकार्य र कृत्रिम बुद्धिमत्ता सम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् । जापानको अत्याधुनिक प्रविधि र भारतको सफ्टवेयर तथा डिजिटल क्षमतालाई जोडेर विश्वस्तरीय एआई विकासमा सहकार्य गर्ने सहमति भएको बताइएको छ ।
भ्रमणको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा भारत र जापानबीच पहिलोपटक रक्षा प्रविधिको संयुक्त विकास सम्बन्धी सम्झौता भएको छ । यसले दुवै देशबीच सुरक्षा तथा रक्षा साझेदारीलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।
दुवै देशले ऊर्जा सुरक्षा, क्रिटिकल मिनरल्स तथा ८८आपूर्ति शृंखलालाई बलियो बनाउने विषयमा पनि सहकार्य विस्तार गर्ने निर्णय गरेका छन् । सेमिकन्डक्टर, स्वच्छ ऊर्जा र उच्च प्रविधिका उद्योगमा संयुक्त लगानी बढाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
शिखर सम्मेलनमा जापानले भारतमा १० अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने योजना सार्वजनिक गरेको छ । साथै आगामी दशकमा १० ट्रिलियन येन (करिब ६१ अर्ब अमेरिकी डलर) बराबरको जापानी लगानी भारतमा भित्र्याउने लक्ष्यलाई पुनः पुष्टि गरिएको छ ।
पूर्वाधार विकासतर्फ जापानले मुम्बई–अहमदाबाद बुलेट ट्रेन सहितका ठूला परियोजनामा सहयोग निरन्तर रहने जनाएको छ । यसका साथै दुवै देशका उद्योगी–व्यवसायीबीच नयाँ साझेदारी र लगानी विस्तारमा पनि सहमति भएको छ ।
चीनको बढ्दो क्षेत्रीय प्रभाव र इन्डो–प्यासिफिक क्षेत्रमा देखिएका सुरक्षा चुनौतीका बीच भारत र जापानले स्वतन्त्र, खुला तथा सुरक्षित इन्डो–प्यासिफिक क्षेत्र निर्माणका लागि रणनीतिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
भारतमा जापानी लगानी विस्तार, एआई, सेमिकन्डक्टर, ऊर्जा तथा उत्पादन उद्योगमा सहकार्य बढेसँगै भविष्यमा जापानी कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ ।