सिजुओका, जापान ।
जापानको सिजुओका प्रिफेक्चर अन्तर्गत पर्ने काकेगावा सहरमा सवारी दुर्घटना गराएर घटनास्थलबाट फरार भएका एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जापानी सञ्चार माध्यमका अनुसार ३१ वर्षीय नेपाली नागरिकले अप्रिल ६ तारिख बिहान करिब ८ बजे काकेगावा सहरको ओइके क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्ग (रुट १ बाइपास) मा गाडी चलाउँदै गर्दा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएका थिए ।
दुर्घटनापछि उनले आफ्नो गाडी सडकमै छोडेर फरार भएको आरोप छ। घटनाका कारण गाडीले सडक अवरुद्ध हुँदा सो सडक खण्ड करिब ३ घण्टासम्म पूर्ण रूपमा बन्द भएको थियो, जसले यातायातमा ठूलो असर पारेको थियो ।
प्रहरीका अनुसार ट्रक चालक भने सुरक्षित रहेका थिए र कुनै गम्भीर चोटपटक लागेको थिएन।
दुर्घटनापछि फरार भएका ती नेपाली नागरिक केही समयपछि नजिकैको फुकुरोइ सहरस्थित अस्पताल पुगेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले उनलाई अप्रिल ९ तारिख साँझ नियन्त्रणमा लिएको हो।
प्रहरीले ती व्यक्तिमाथि निम्न दुर्घटना भएको जानकारी नदिएको, घटनास्थलबाट फरार भएको (हिट एन्ड रन) तथा सडक सुरक्षा नियम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
जापानको सडक कानुन अनुसार यस्तो कार्यलाई गम्भीर अपराध मानिन्छ र कडा सजायको व्यवस्था रहेको छ ।
प्रहरीको सोधपुछका क्रममा अभियुक्तले “मैले गरेको कुरा सही हो” भन्दै आफ्नो गल्ती स्वीकार गरेका छन् ।
हाल प्रहरीले उनी किन घटनास्थलबाट भागे भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जापानमा सवारी दुर्घटनापछि घटनास्थलबाट फरार हुनु अत्यन्त गम्भीर अपराध मानिन्छ । यस घटनाले विशेषगरी विदेशी कामदार तथा आप्रवासी समुदायलाई ट्राफिक नियमको कडाइबारे सचेत गराएको छ ।