(Japan) 27 th May | 2026 | Wednesday | 1:38:43 PM || (Nepal) 10:23:43 AM
 
 


जापानमा दीर्घकालीन महँगी निम्तन सक्ने चेतावनी, ब्याजदर बढाउने संकेत

  POSTED ON : Wednesday, 27 May, 2026 | Views : 160

जापानमा दीर्घकालीन महँगी निम्तन सक्ने चेतावनी, ब्याजदर बढाउने संकेत


टोकियो, जापान ।

जापानको केन्द्रीय बैंक (BOJ) का गभर्नर काजुओ उएदाले ऊर्जा मूल्यमा आएको अस्थायी मूल्य बृद्धिले जापानमा दीर्घकालीन महँगीको रूप लिन सक्ने चेतावनी दिएका छन् । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।


टोकियोमा बुधबार आयोजित एक आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै उएदाले केन्द्रीय बैंकहरूले तेलको मूल्यलाई केवल अस्थायी उतारचढावका रूपमा मात्र हेर्न नहुने बताए । उनका अनुसार यदि ऊर्जा मूल्यवृद्धिले मजदुरी, उपभोक्ताको अपेक्षा र व्यवसायहरूको मूल्य निर्धारण व्यवहारमा प्रभाव पार्न थाल्यो भने त्यसले महँगीलाई लामो समयसम्म टिकाइराख्न सक्छ ।


उएदाले जापानले विगतका दशकहरूमा भोगेका विभिन्न ऊर्जा संकटहरूको उदाहरण दिँदै एउटै स्तरको तेल मूल्यवृद्धिले पनि फरक–फरक आर्थिक प्रभाव पार्ने उल्लेख गरे । उनले भने, “यदि मुद्रास्फीति सम्बन्धी अपेक्षा पहिले नै उच्च छ र तलब बढ्ने क्रम तीव्र छ भने दोस्रो चरणको प्रभावको जोखिम धेरै हुन्छ ।”


उनका अनुसार यदि जनतामा भविष्यमा पनि मूल्य बढिरहने अपेक्षा बलियो भयो भने कम्पनीहरूले थप मूल्य बढाउन सक्छन् र कामदारहरूले उच्च तलब माग गर्न सक्छन् । यस्तो अवस्थाले महँगीलाई अस्थायी नभई दीर्घकालीन बनाउने खतरा रहन्छ ।


तर उएदाले अर्को पक्ष पनि औंल्याए । उनले भने, “यदि मुद्रास्फीति सम्बन्धी अपेक्षा कमजोर छ र तलब वृद्धि सुस्त छ भने ठूलो लागत झट्काले पनि स्थायी महँगी सिर्जना नगर्न सक्छ ।”


हाल मध्यपूर्वको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेको छ, जसले जापानमा समेत महँगीको दबाब थपेको छ । यसैबीच बैंक अफ जापान भित्र ब्याजदर बढाउने संकेतहरू बलियो बन्दै गएका छन् । बजार विश्लेषकहरूले जापानले आगामी महिनामै ब्याजदर वृद्धि गर्न सक्ने अनुमान गर्न थालेका छन् ।


उएदाको भनाइले जापानको मौद्रिक नीतिमा आगामी दिनमा थप कडाइ आउन सक्ने संकेत दिएको छ । लामो समयसम्म शून्य नजिकको ब्याजदर नीति अपनाएको जापान अहिले बढ्दो महँगी र विश्वव्यापी ऊर्जा संकटबीच नयाँ आर्थिक चुनौतीको सामना गरिरहेको छ ।