(Japan) 27 th May | 2026 | Wednesday | 11:29:23 AM || (Nepal) 8:14:23 AM
 
 


छोरीमाथि आक्रमणको आरोपमा पक्राउ परेपछि योमिउरी जायन्ट्सका प्रबन्धक आबेले दिए राजीनामा

  POSTED ON : Wednesday, 27 May, 2026 | Views : 116

छोरीमाथि आक्रमणको आरोपमा पक्राउ परेपछि योमिउरी जायन्ट्सका प्रबन्धक आबेले दिए राजीनामा


टोकियो, जापान ।
जापानको चर्चित व्यावसायिक बेसबल टोली Yomiuri Giants का प्रशिक्षक Shinnosuke Abe घरेलु हिंसासम्बन्धी आरोपमा पक्राउ परेपछि पदबाट राजीनामा दिएका छन्।

सोमबार टोकियोको शिबुया वार्डस्थित आफ्नै निवासमा १८ वर्षीया छोरीमाथि दुर्व्यवहार गरेको आरोपमा आबेलाई प्रहरीले पक्राउ गरेको थियो। आरोप अनुसार उनले आफ्नी छोरीलाई धकेलेर लडाएका थिए। घटना घरभित्र दुई दिदीबहिनीबीच भएको झगडा मिलाउने क्रममा भएको बताइएको छ।

पछि रिहा गरिएका आबेले पत्रकार सम्मेलन गर्दै आफूले बेसबल समर्थक, व्यावसायिक बेसबलसँग सम्बन्धित व्यक्तिहरू तथा क्लबको प्रतिष्ठामा क्षति पुर्‍याएको भन्दै सार्वजनिक रूपमा माफी मागेका छन्।

प्रहरीका अनुसार स्थानीय बाल संरक्षण केन्द्रमा आएको सूचनापछि आबेलाई नियन्त्रणमा लिइएको थियो । जापानी सञ्चारमाध्यमका अनुसार उनकी छोरीले जेनेरेटिभ एआईमार्फत के गर्ने भनेर सल्लाह खोजेपछि बाल संरक्षण केन्द्रको सम्पर्क विवरण पाएकी थिइन् र त्यहीँ फोन गरेकी थिइन् । घटनापछि आबेको शरीरमा मदिरा सेवन गरेको संकेत पनि भेटिएको बताइएको छ ।

प्रेस सम्मेलनमा आबेका कानुन व्यवसायीले उनकी छोरीले लेखेको पत्र पनि सार्वजनिक गरेका थिए । पत्रमा उनले घटना ठूलो विषय बनेकोमा दुःख व्यक्त गर्दै आफू र बुबाबीच मेलमिलाप भइसकेको उल्लेख गरेकी छन् ।

४७ वर्षीय आबे सन् २००१ मा Yomiuri Giants मा आबद्ध भएका थिए । खेलाडी जीवनमा उनले २ हजारभन्दा बढी हिट र ४ सयभन्दा बढी होम रन बनाएका थिए । उनी टोलीको प्रशिक्षकको रूपमा तेस्रो सिजनमा रहेका थिए।