(Japan) 16 th September | 2026 | Wednesday | 10:06:16 PM || (Nepal) 6:51:16 PM
 
 


एसियाली खेलकुदमा नेपाल जापानसँग ३-० ले पराजित

  POSTED ON : Thursday, 17 September, 2026 | Views : 202

एसियाली खेलकुदमा नेपाल जापानसँग ३-० ले पराजित


आइची, जापान ।

नागोयामा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले आयोजक जापानसँग पहिलो खेलमै ३–० को सोझो सेटमा हार बेहोरेको छ।

समूह ‘ए’ अन्तर्गत बुधबार, सेप्टेम्बर १६ मा कोमाकीस्थित पार्क एरिना कोमाकीमा भएको खेलमा जापानले नेपालमाथि सहज जित निकाल्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको हो।

महिला भलिबलको समूह ‘ए’ मा जापान, नेपाल र इन्डोनेसिया रहेका छन् । एसियाली खेलकुदको महिला भलिबल प्रतियोगिता सेप्टेम्बर १६ देखि २२ सम्म सञ्चालन हुँदैछ ।

पहिलो खेलमा नेपालले घरेलु टोली जापानविरुद्ध प्रतिस्पर्धा गरे पनि तीनै सेटमा पछि पर्दै खेल गुमायो । जापानको टोलीमा कप्तान सेकी नानामी लगायत अनुभवी तथा युवा खेलाडीहरू सहभागी छन् । जापानले प्रतियोगिताको सुरुवाती खेलमै आफ्नो बलियो आक्रमण र संगठित खेल प्रस्तुत गरेको थियो ।

नेपालका लागि अब समूह चरणको दोस्रो तथा महत्वपूर्ण खेल सेप्टेम्बर १७ मा इन्डोनेसियाविरुद्ध रहेको छ । उक्त खेल जापानी समयअनुसार साँझ ७:२० बजे सुरु हुने तालिका छ । समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १८ मा इन्डोनेसिया र जापान आमनेसामने हुनेछन् ।

नेपालले इन्डोनेसिया विरुद्ध राम्रो प्रदर्शन गर्दै समूह चरणमा आफ्नो स्थिति सुधार्ने लक्ष्य राखेको छ । महिला भलिबलको समूह चरणपछि क्वार्टरफाइनल चरणमा प्रवेश गर्ने टोलीहरूको टुंगो लाग्नेछ ।


जापानमा जारी एसियाली खेलकुदमा नेपाली टोलीको आगामी खेल

नेपाल/इन्डोनेसिया

सेप्टेम्बर १७, २०२६

साँझ ७स्२० बजे (जापान समय)

महिला भलिबल – समूह ‘ए