टोकियो, जापान ।
नेपालले शानदार प्रदर्शन गर्दै एसीसी मेन्स प्रिमियर कप २०२६ को उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा शनिबार भएको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनको फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि हात पारेको हो ।
नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। जवाफमा यूएईले ४९.२ ओभरमा २६८ रनमै सबै विकेट गुमायो । यससँगै नेपालले प्रतियोगिताको उपाधिसँगै २०२७ को एशिया कपमा स्थान सुरक्षित गरेको छ ।
अर्कोबर्ष जुन र जुलाई महिनामा बंगलादेशमा हुने नेपाल छनौट भएको एशिया कपमा आयोजक बंगलादेश सहित अफगानिस्तान, श्रीलंका, भारत, पाकिस्तान, श्रीलंका सहभागी रहेको छ ।
नेपालको विशाल योगफल
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतक प्रहार गरे। उनले १०६ बलमा १०२ रन बनाउँदै नेपालको इनिङ्सलाई बलियो आधार दिएका थिए। उनको पारीमा ८ चौका र ४ छक्का सामेल थिए ।
आसिफसँग ओपनिङ गरेका अर्जुन कुमालले ४३ रन जोड्दै पहिलो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे। आसिफ र अर्जुनको सुरुआती साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्याएको थियो।
नेपालले अन्ततः ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको प्रतिस्पर्धात्मक तथा बलियो योगफल खडा गर्यो।
यूएईको संघर्षपूर्ण जवाफ
३१४ रनको विशाल लक्ष्य पछ्याएको यूएईले सुरुआतमा संघर्ष गरे पनि केही ब्याटरले प्रतिरोध गरेका थिए। यूएईका राहुल चोपडाले शतक प्रहार गर्दै १०० रन बनाए। तर अन्य ब्याटरबाट पर्याप्त साथ नपाउँदा यूएई लक्ष्यसम्म पुग्न सकेन ।
यूएईको टोली ४९.२ ओभरमा २६८ रनमा अलआउट भएपछि नेपालले ४४ रनको शानदार जित दर्ता गर्यो।
नेपालका लागि ऐतिहासिक सफलता
यस जितसँगै नेपालले एसीसी मेन्स प्रिमियर कप २०२६ को उपाधि जित्नुका साथै २०२७ एशिया कपमा स्थान पक्का गरेको छ। फाइनलअघि नेपालले सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो भने यूएई हङकङलाई हराउँदै फाइनल पुगेको थियो।
नेपालको यो जित नेपाली क्रिकेटका लागि अर्को महत्वपूर्ण उपलब्धि बनेको छ। दबाबपूर्ण फाइनलमा ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोलीले उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।