(Japan) 28 th May | 2026 | Thursday | 11:14:42 AM || (Nepal) 7:59:42 AM
 
 

नागोया नेपाल फेस्टिवल २०२६ तयारी पुरा, सुरु हुन २ दिन बाँकी

  POSTED ON : Thursday, 28 May, 2026 | Views : 172

नागोया नेपाल फेस्टिवल २०२६ तयारी पुरा, सुरु हुन २ दिन बाँकी


नागोया, जापान ।

जापानको नागोयामा आयोजना हुन लागेको तीन दिने “नागोाया नेपाल फेस्टिवल २०२६” सुरु हुन अब केवल दुई दिन मात्र बाँकी रहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोया क्षेत्रीय समितिको आयोजनामा हुन लागेको उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
...
नागोयामा नेपाली कला-संस्कृति प्रचारको लागि नेपाल फेस्टिभल हुँदै, ब्लड संकलन बस सेवाको लागि आर्थिक संकलन हुने
...

मे ३०, ३१ र जुन १ तारिखसम्म सञ्चालन हुने फेस्टिवलमा नेपालका कला, संस्कृति, पर्यटन, परम्परा, खानपान तथा नेपाली उत्पादनहरूको प्रवर्द्धन गरिने तयारी आयोजकको छ । कार्यक्रममा जापानमा बसोबास गर्ने नेपाली समुदायसँगै जापानी तथा अन्य विदेशी नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।


आयोजकका अनुसार फेस्टिवलमा नेपाली सांस्कृतिक प्रस्तुति, लोक तथा आधुनिक संगीत, नेपाली परिकार, व्यवसायिक स्टल, पर्यटन प्रवर्द्धन कार्यक्रम तथा विभिन्न सामाजिक अभियानहरू समावेश गरिनेछ । नागोयामा आयोजना हुने यो चौथो संस्करणको नेपाल फेस्टिवललाई अझ भव्य बनाउन विभिन्न संघसंस्था, व्यवसायी तथा स्वयंसेवकहरू सक्रिय रूपमा जुटिरहेका छन् ।


फेस्टिवलको प्रचारप्रसारलाई तीव्र बनाइएको छ भने सामाजिक सञ्जालमार्फत पनि सहभागिताका लागि व्यापक आह्वान गरिएको छ। “नेपालको कला, संस्कृति, स्वाद र नेपालीपनले भरिएको महोत्सव” भन्दै आयोजकले जापानभर रहेका नेपालीहरूलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणा दिएका छन् ।


यसैबीच, फेस्टिवलसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत “ब्लड संकलन बस सेवा” अभियान पनि सञ्चालन गरिने भएको छ । नेपालमा रगत अभाव कम गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त अभियानका लागि आर्थिक संकलन समेत फेस्टिवल स्थलमा गरिने आयोजकले जनाएको छ । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गरिरहेको ब्लड बस खरिदको लागि जापानबाट संघका केन्द्रिय उपाध्यक्ष ददिवल खड्काको संयोजकत्वमा आर्थिक संकलनको पहल भइरहेको छ ।


नागोयामा आयोजना हुने नेपाल फेस्टिवलले नेपाल-जापान सम्बन्ध, नेपाली समुदायको एकता तथा नेपालको पर्यटन र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।