(Japan) 8 th September | 2026 | Tuesday | 6:18:04 PM || (Nepal) 3:03:04 PM
 
 


नेपालको बाढीपीडितका लागि जापानद्धारा ४५ करोड रुपैयाँ आपतकालीन अनुदान दिने घोषणा

  POSTED ON : Tuesday, 08 September, 2026 | Views : 252

नेपालको बाढीपीडितका लागि जापानद्धारा ४५ करोड रुपैयाँ आपतकालीन अनुदान दिने घोषणा


काठमाडौं, नेपाल ।

जापान सरकारले नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहतका लागि ३० लाख अमेरिकी डलर (करिब ४५ करोड रुपैयाँभन्दा बढी) बराबरको आपतकालीन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

नेपालस्थित जापानी दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार, जापान सरकारले नेपालमा आएको आकस्मिक बाढी विपत्तिको अवस्थालाई मध्यनजर गर्दै उक्त आपतकालिन अनुदान उपलब्ध गराउने निर्णय गरेको हो।

उक्त आपतकालीन अनुदानमार्फत अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा बाढीपीडितहरूलाई आवश्यक मानवीय सहायता उपलब्ध गराइनेछ । सहयोग मुख्य रूपमा खाद्य सामग्री, स्वास्थ्य तथा चिकित्सा सेवा, स्वच्छ खानेपानी, सरसफाइ र व्यक्तिगत स्वच्छता लगायतका क्षेत्रमा केन्द्रित हुने बताइएको छ ।

नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको छ । संयुक्त राष्ट्रसंघ र मानवीय साझेदारहरूले पनि प्रभावित जनतालाई तत्काल राहत पुर्‍याउन आपतकालीन सहायता अभियान सञ्चालन गरिरहेका छन् ।

यसअघि पनि जापान सरकारले नेपाललाई टेन्ट, कम्बल, प्लास्टिक सिट, सुत्ने म्याट तथा पानी बोक्ने पोर्टेबल कन्टेनर लगायतका आपतकालीन राहत सामग्री उपलब्ध गराएको थियो । जापानले नेपाल सरकारको अनुरोधमा राहत सामग्री तथा अन्य आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

जापानको यो नयाँ ३० लाख अमेरिकी डलरको आपतकालीन सहयोग बाढीबाट प्रभावित हजारौं नागरिकका लागि राहत, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।