कायरो, ईजिप्ट ।
इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफा सहित १२ जनालाई लागूऔषध सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै झुण्ड्याएर मृत्युदण्ड दिने सजाय सुनाइएको छ ।
३९ वर्षीया खलिफा अपराध सम्बन्धी विषयमा आधारित टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ का कारण परिचित छिन् । उनले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन्।
राज्य स्वामित्वको अल–अहराम पत्रिकाका अनुसार दोषी ठहर भएकाहरू लागूऔषध उत्पादनमा प्रयोग हुने सामग्री आयात गरी लागूऔषध बनाएर बिक्री गर्ने उद्देश्यसहित संगठित आपराधिक समूहमा संलग्न थिए । उनीहरूसँग अवैध हतियार तथा गोलीगठ्ठा समेत फेला परेको जनाइएको छ ।
यस मुद्दामा अन्य नौ जनालाई आजीवन कारावास सजाय सुनाइएको छ भने सात जना आरोपितले सफाइ पाएका छन् ।
खलिफाका वकिलले मृत्युदण्डको फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।
गत महिना प्रारम्भिक रूपमा सुनाइएको फैसला इजिप्टको अदालतले ग्रान्ड मुफ्तीको धार्मिक राय लिएपछि एक महिनापछि पुष्टि गरेको हो । इजिप्टमा मृत्युदण्ड सम्बन्धी मुद्दामा ग्रान्ड मुफ्तीको राय लिनु कानुनी प्रक्रिया अन्तर्गत आवश्यक मानिन्छ ।