(Japan) 4 th September | 2026 | Friday | 11:17:51 PM || (Nepal) 8:02:51 PM
 
 


जापानी 'सेना'मा विदेशी नागरिकलाई पनि भर्ती गर्नुपर्ने प्रस्ताव

  POSTED ON : Saturday, 05 September, 2026 | Views : 166

जापानी 'सेना'मा विदेशी नागरिकलाई पनि भर्ती गर्नुपर्ने प्रस्ताव


टोकियो, जापान ।

जापानमा घट्दो जनसंख्या र युवाको कमीका कारण आत्मरक्षा बल (एसडिए)फमा जनशक्ति भर्ती गर्न चुनौती बढ्दै गएपछि विदेशी नागरिकलाई समेत आत्मरक्षा बलमा भर्ती गर्ने विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने सुझाव दिइएको छ ।

सासाकावा पिस फाउन्डेसन अन्तर्गतको विज्ञहरूको एक प्यानलले बुधबार जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीलाई देशको रक्षा क्षमता सुदृढ बनाउने सम्बन्धमा विभिन्न सुझाव प्रस्तुत गर्दै विदेशी नागरिकलाई एसडिएफ मा भर्ती गर्ने सम्भावनाबारे विचार गर्न आग्रह गरेको हो ।

प्यानलले जापानको जनसंख्या आगामी वर्षहरूमा पनि निरन्तर घट्ने अवस्था रहेकाले विदेशी भएकै कारण उनीहरूलाई पूर्ण रूपमा बाहिर राख्नुको सट्टा आत्मरक्षा बलमा विदेशी नागरिकलाई भर्ती गर्ने सम्भावनालाई गम्भीरतापूर्वक विचार गर्ने समय आएको जनाएको छ ।

जापानमा जन्मदर घट्दै जाँदा काम गर्ने उमेर समूहको जनसंख्या पनि तीव्र रूपमा घटिरहेको छ । यसको असर आत्मरक्षा बलमा आवश्यक जनशक्ति जुटाउन समेत परेको छ। एसडिएफले पछिल्ला वर्षहरूमा भर्ती लक्ष्य पूरा गर्न कठिनाइ भोग्दै आएको छ ।

विज्ञहरूको सुझाव अनुसार विदेशी नागरिकलाई भर्ती गर्ने विषयमा अघि बढ्दा उनीहरूको नागरिकता, सुरक्षा जाँच, भाषा क्षमता, जिम्मेवारी तथा संवेदनशील रक्षा सूचनामा पहुँच लगायतका विषयमा स्पष्ट मापदण्ड आवश्यक हुनेछ ।

हाल जापानको आत्मरक्षा बलमा भर्ती हुन अनिवार्य जापानी नागरिकता आवश्यक पर्ने व्यवस्था छ । त्यसैले विदेशी नागरिकलाई भर्ती गर्ने प्रस्ताव कार्यान्वयनमा आएमा जापानको रक्षा तथा सुरक्षा नीतिमा महत्वपूर्ण परिवर्तन हुन सक्ने देखिन्छ ।

विशेषगरी जापानमा लामो समयदेखि बसोबास गरिरहेका विदेशी समुदायको संख्या बढिरहेको अवस्थामा यस्तो प्रस्तावले विदेशी नागरिकको जापानी समाजमा सहभागिता र रोजगारीका नयाँ सम्भावनाबारे समेत बहस सिर्जना गर्न सक्नेछ ।

तर विदेशी नागरिकलाई सैन्य सेवामा प्रवेश गराउने विषय संवेदनशील भएकाले राष्ट्रिय सुरक्षा, निष्ठा तथा गोपनीयता सम्बन्धी जोखिमलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न मुख्य चुनौतीका रूपमा रहनेछ ।

सासाकावा पिस फाउन्डेसनको विज्ञ प्यानलले दिएको सुझाव अहिले तत्काल लागू हुने निर्णय भने होइन । यो जापानको घट्दो जनसंख्या र एसडिएफको भर्ती समस्यालाई सम्बोधन गर्न प्रस्तुत गरिएको नीतिगत सुझाव हो ।

रक्षामन्त्री कोइजुमीलाई प्रस्तुत गरिएको सिफारिसमा आत्मरक्षा बलको क्षमता अभिवृद्धि गर्न अन्य उपायहरू समेत समेटिएका छन् । बिदेशी नागरिकलाई राष्ट्रिय सुरक्षामा भर्ती गरेका विभिन्न देशहरुको सूचि सहित मोडालिटि समेत सुझावमा समेटिएको बताइएको छ ।
जापानमा सैनिकहरुलाई आत्मरक्षा बल (एसडिएफ)को नामले चिनिँदै आएको छ ।