टोकियो, जापान ।
जापानका अवकाशप्राप्त सम्राट अकिहितोको निधनपछि गरिने अन्त्येष्टि तथा सम्बन्धित राजकीय समारोहलाई विगतको तुलनामा निकै सानो र सरल बनाउने तयारी जापानको इम्पेरियल हाउसहोल्ड एजेन्सीले गरेको छ ।
यस वर्ष ९३ वर्ष पुग्न लाग्नुभएका अकिहितोको स्वास्थ्यमा हाल कुनै ठूलो समस्या नरहेको बताइएको छ । अवकाशप्राप्त महारानी मिचिकोसँगै शान्त जीवन बिताउँदै आएका छन् र सार्वजनिक कार्यक्रममा समेत निकै कम देखिने गरेका छन् ।
अकिहितोले सन् २०१९ मा स्वास्थ्यका कारण सम्राट्को पद त्याग गरेका थिए । त्यसअघि सन् २०१६ मा भिडियो सन्देशमार्फत आफ्नो उमेर र स्वास्थ्य अवस्थाका कारण जिम्मेवारी निरन्तर सम्हाल्न कठिन हुने संकेत गरेका थिए ।
समाचार अनुसार अकिहितो र मिचिकोले आफ्नो अन्त्येष्टि समारोह इम्पेरियल हाउसको परम्परा कायम राख्दै सर्वसाधारणको दैनिक जीवनमा कमभन्दा कम असर पर्ने गरी आयोजना गर्न वरिष्ठ अधिकारीहरूसँग इच्छा व्यक्त गरेका छन् ।
यसैअनुसार एजेन्सीले पूर्वसम्राट शोवाको अन्त्येष्टि समारोहलाई समेत ध्यानमा राख्दै नयाँ योजना अघि बढाइरहेको छ । शोवाको निधनपछि ‘सोजोडेन–नो–गी’ लगायतका समारोह आयोजना गर्न शिन्जुकु ग्योएन राष्ट्रिय उद्यान करिब साढे दुई महिना बन्द गरिएको थियो । ती समारोहमा जापान तथा विदेशबाट करिब १० हजार मानिस सहभागी भएका थिए ।
यसपटक भने ‘सोजोडेन–नो–गी’ समारोह इम्पेरियल प्यालेस परिसरमै रहेको सेइदेन–मात्सु–नो–मा हलमा आयोजना गर्ने विकल्पमा एजेन्सीले विचार गरिरहेको बताइएको छ ।
स्थान परिवर्तनसँगै सहभागीको संख्या पनि करिब २,५०० जनामा सीमित गर्ने तयारी रहेको स्रोतहरूले बताएका छन् । दरबारभित्रै समारोह आयोजना गर्दा सर्वसाधारणको दैनिक जीवनमा पर्ने असर, खर्च तथा सुरक्षा व्यवस्थापनमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ ।
सम्राट नारुहितो र क्राउन प्रिन्स अकिशिनोले पनि एजेन्सीको यस योजनालाई समर्थन गरेको बताइएको छ ।
यस निर्णयले सरकारको नेतृत्वमा हुने ‘ताइसो–नो–रेइ’ नामक राजकीय अन्त्येष्टि समारोहको स्वरूपमा समेत महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने देखिएको छ ।