टोकियो, जापान ।
जापानमा व्यवसाय सञ्चालनका लागि दिइने ‘बिजनेस म्यानेजर’ भिसाका नियम कडा बनाएपछि विदेशी व्यवसायीको जापान छाड्ने क्रम बढेको छ ।
एक रिपोर्टअनुसार, २०२६ को पहिलो छ महिनामा बिजनेस म्यानेजर भिसामा रहेका करिब १,००० विदेशी नागरिक जापानबाट बाहिरिएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै चार गुणा बढी हो।
जापान सरकारले गत वर्ष अक्टोबरदेखि विदेशी व्यवसायीका लागि यो भिसाको मापदण्डमा ठूलो परिवर्तन गरेको थियो । नयाँ व्यवस्था अनुसार व्यवसाय सञ्चालन गर्न चाहने विदेशीले पहिलेको तुलनामा धेरै ठूलो पूँजी, कर्मचारी र व्यवस्थापकीय क्षमता प्रमाणित गर्नुपर्ने भएको छ ।
पूँजीको आवश्यकता ५० लाखबाट ३ करोड येन
नयाँ नियम अन्तर्गत व्यवसायको पूँजी वा लगानीको न्यूनतम सीमा ५० लाख येनबाट बढाएर ६ गुणा बढाउँदै ३ करोड येन पुर्याइएको छ।
यससँगै व्यवसायले कम्तीमा एक जना पूर्णकालीन कर्मचारी नियुक्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि निश्चित अवस्थामा ५० लाख येन पूँजी वा दुई जना कर्मचारीमध्ये एउटा विकल्प पूरा गरे पुग्ने व्यवस्था थियो । नयाँ नियमले भने पूँजी र कर्मचारी दुवैसम्बन्धी मापदण्डलाई कडा बनाएको छ ।
विदेशी व्यवसायीको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिलाई पनि कडाई गरिएको छ । नयाँ मापदण्ड अनुसार सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको व्यवस्थापकीय अनुभव वा सम्बन्धित विषयमा मास्टर्स वा सोभन्दा माथिको डिग्री आवश्यक पर्ने व्यवस्था छ ।
जापानी भाषा र व्यवसायिक योजना पनि परीक्षण
नयाँ व्यवस्थाले व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा पूर्णकालीन कर्मचारीमध्ये कम्तीमा एक जनासँग निश्चित स्तरको जापानी भाषा क्षमता हुनुपर्ने व्यवस्था गरेको छ । यसको स्तर सामान्यतया जेएलपिटि एन टु बराबर मानिन्छ।
त्यसैगरी, व्यवसायको योजना मात्र पेश गरेर पुग्ने अवस्था नरहने गरी त्यसलाई योग्य विशेषज्ञबाट पुष्टि गराउनुपर्ने कडा व्यवस्था गरिएको छ । व्यवसायको वास्तविकता, आर्थिक आधार, कार्यालय र सञ्चालन क्षमतामाथि पनि अध्यागमन अधिकारीहरूले थप कडाइका साथ मूल्यांकन तथा परिक्षण गर्न थालेका छन् ।
नयाँ बिजनेस भिसा आवेदन ९६ प्रतिशतले घट्यो
नियम परिवर्तनपछि बिजनेस म्यानेजर भिसाका नयाँ आवेदनमा पनि उल्लेख्य गिरावट आएको छ ।
जापानको अध्यागमनसम्बन्धी रिपोर्टिङअनुसार, नयाँ नियम लागू हुनुअघि मासिक करिब १,७०० आवेदन आउने गरेकोमा नियम कडा भएपछि पाँच महिनाको अवधिमा केवल ७० आवेदन प्रतिमहिनामा झरेको बताइएको छ । अर्थात् नयाँ आवेदनमा करिब ९६ प्रतिशतले गिरावट देखिएको छ।
जापान सरकारले भने यस्तो कडाइको उद्देश्य वास्तविक व्यवसाय सञ्चालन गर्ने विदेशी उद्यमीलाई रोक्नु नभई भिसा प्रणालीको दुरुपयोग र कागजी वा निष्क्रिय कम्पनीमार्फत बसोबासको अनुमति लिने प्रवृत्ति नियन्त्रण गर्नु रहेको जिकिर गर्दै आएको छ।
साना व्यवसायी बढी मारमा
नयाँ नियमले विशेषगरी साना र पारिवारिक व्यवसाय सञ्चालन गरिरहेका विदेशी व्यवसायीलाई चुनौती थपेको छ ।
जापानमा लामो समयदेखि रेस्टुरेन्ट, व्यापार, सेवा तथा अन्य साना व्यवसाय सञ्चालन गर्दै आएका केही विदेशीका लागि एकैपटक ३ करोड येन पूँजी जुटाउनु र पूर्णकालीन कर्मचारी राख्नु कठिन बनेको छ ।
यस्ता व्यवसायीले कर तथा सामाजिक सुरक्षा दायित्व पूरा गर्दै वर्षौंदेखि जापानमा व्यवसाय सञ्चालन गरे पनि नयाँ पूँजी मापदण्ड पूरा गर्न नसक्दा भविष्यमा भिसा निरन्तरता नहुने अवस्था आएको छ ।
विशेषगरी जापानमा रहेका नेपाली, भारतीय लगायत दक्षिण एसियाली समुदायमा रेस्टुरेन्ट, खाद्य व्यवसाय, ट्रेडिङ तथा साना सेवा व्यवसाय मार्फत बिजनेस म्यानेजर भिसा प्रयोग गर्नेको संख्या उल्लेख्य रहेकाले नयाँ व्यवस्थाको प्रभाव उनीहरूमाथि सबैभन्दा बढि पर्न सक्ने देखिएको छ।
‘वास्तविक व्यवसाय’माथि पनि अध्यागमनको निगरानी
नयाँ नियमसँगै जापानको अध्यागमन प्रशासनले व्यवसाय वास्तवमै सञ्चालनमा छ कि छैन भन्ने विषयमा स्थलगत निरीक्षण र कागजात परीक्षणलाई समेत प्राथमिकता दिएको छ ।
कम्पनीको कार्यालय, कर्मचारी, कारोबार, व्यवसायिक गतिविधि तथा पेश गरिएका विवरणबीच वास्तविकता मिलेको छ कि छैन भन्ने विषयमा जाँच बढाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
यसले केवल कम्पनी दर्ता गरेर वा न्यून गतिविधिका आधारमा बिजनेस म्यानेजर भिसा कायम राख्ने प्रयासलाई थप कठिन बनाएको छ ।
तीन वर्षसम्म संक्रमणकालीन व्यवस्था
हाल पहिलेदेखि बिजनेस म्यानेजर भिसामा रहेका विदेशीका लागि केही संक्रमणकालीन व्यवस्था पनि लागू गरिएको छ । नयाँ नियम अनुसार सबै मापदण्ड तत्कालै पूरा गर्न नसक्ने पुराना व्यवसायीको नवीकरणमा व्यवसायको अवस्था, कर भुक्तानी, व्यवस्थापन र भविष्यमा नयाँ मापदण्ड पूरा गर्न सक्ने सम्भावना लगायत पक्षलाई समग्र रूपमा मूल्यांकन गर्ने व्यवस्था गरिएको छ ।
तर संक्रमणकालीन अवधि सकिएपछि नयाँ मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने भएकाले पुराना व्यवसायीले पनि पूँजी, कर्मचारी, जापानी भाषा, कार्यालय तथा व्यवस्थापनसम्बन्धी आवश्यक तयारी गर्नुपर्ने देखिन्छ ।
जापानमा विदेशी उद्यमशीलतालाई आकर्षित गर्ने उद्देश्यले लामो समयदेखि प्रयोग हुँदै आएको बिजनेस म्यानेजर भिसाको नयाँ व्यवस्थाले अब ‘जापानमा व्यवसाय गर्न चाहने जोसुकै’ भन्दा ‘पर्याप्त पूँजी, क्षमता र वास्तविक व्यवसाय भएका उद्यमी’लाई प्राथमिकता दिने दिशामा प्रणाली अघि बढाएको संकेत गरेको छ ।
विदेशी व्यवसायीको देश छाड्ने संख्या बढ्नु र नयाँ आवेदनमा ठूलो गिरावट आउनुले जापानको नयाँ भिसा नीतिले विदेशी उद्यमीमाथि पारेको प्रभाव भने स्पष्ट रूपमा देखाउन थालेको छ । धेरैले जापानको नयाँ बिजनेस भिसा नीतिले जापानबाट साना लगानीकर्ता पलायन हुने र नयाँ आउने बाटो बन्द भएको टिप्पणी गर्न थालेका छन् ।
...
श्रोत : निक्केइ एशिया