टोकियो, जापान ।
नेपालमा हालै आएको महाविपत्तिबाट प्रभावित नेपालीहरूको सहयोगका लागि बलेवा सेवा समाज जापानले श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रममार्फत राहत सहयोग जुटाउने भएको छ।
समाजले आगामी सेप्टेम्बर ४ तारिख शुक्रबार टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा आयोजना गर्न लागेको कार्यक्रमलाई धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै मानवीय सेवाको अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो।
कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएको समाजले जनाएको छ। नेपाल विपत्तिमा रहेका बेला धार्मिक आस्था र प्रार्थनासँगै पीडित नेपालीलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम संयोजक सेवक पिसीले विपत्तिमा परेका नेपालीप्रति ऐक्यबद्धता जनाउँदै राहत अभियानमा सहयोग गर्न जापानवासी नेपालीलाई आग्रह गरे।
कार्यक्रम उपसंयोजक महेन्द्र पिसीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै जापानमा रहेका नेपालीलाई कार्यक्रममा सहभागी हुन अपिल गरे।
समाजका महासचिव रोशन चापागाईँका अनुसार कार्यक्रमको मुख्य उद्देश्य धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्व र मानव सेवासँग जोड्नु हो। कार्यक्रममा सहभागीबाट प्राप्त सहयोगलाई मानवीय सेवामा परिचालन गरिने उनले बताए।
समाजका अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’ले देश विपत्तिमा रहेका बेला श्रीकृष्णसँग सुख, शान्ति र सुरक्षाका लागि प्रार्थना गर्दै पीडित नेपालीको सहयोगमा जुट्नु कार्यक्रमको मूल उद्देश्य रहेको बताए।
कार्यक्रममा बलेवाली भजन समूहले विभिन्न भजन–कीर्तन तथा धार्मिक प्रस्तुति दिने तयारी गरेको छ।
बलेवा सेवा समाज जापानले जापानवासी नेपालीलाई सेप्टेम्बर ४ मा सोलमारी मुरा हलमा सहभागी भई भक्ति, प्रार्थनासँगै विपत्तिपीडित नेपालीको राहत अभियानमा साथ दिन अपिल गरेको छ।