(Japan) 2 nd September | 2026 | Wednesday | 12:59:16 PM || (Nepal) 9:44:16 AM
 
 


जापानी प्रधानमन्त्री ताकाइची र प्रधानमन्त्री बालेन्द्र शाहबिच टेलिफोनबार्ता-जापानको चासो र प्रतिवद्धता, नेपालले गरायो वास्तविक अवस्था र आभार !

  POSTED ON : Wednesday, 02 September, 2026 | Views : 332

जापानी प्रधानमन्त्री ताकाइची र प्रधानमन्त्री बालेन्द्र शाहबिच टेलिफोनबार्ता-जापानको चासो र प्रतिवद्धता, नेपालले गरायो वास्तविक अवस्था र आभार !


टोकियो, काठमाडौं ।

नेपाल–चीन सीमा क्षेत्रमा गत अगस्ट २६ मा आएको भीषण बाढी तथा पहिरोबाट उत्पन्न मानवीय संकटका विषयमा जापानका प्रधानमन्त्री सानाए ताकाइची र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।

जापानको परराष्ट्र मन्त्रालयका अनुसार जापानी समय अनुसार सेप्टेम्बर १ तारिख अपराह्न ४ः१५ बजे अर्थात् नेपाली समयअनुसार अपराह्न १ बजे सुरु भएको वार्ता करिब १० मिनेट चलेको थियो । प्रधानमन्त्री ताकाइचीले गत मार्चमा पदभार सम्हालेका प्रधानमन्त्री शाहसँग पहिलोपटक टेलिफोन संवाद गर्नुभएको हो ।


विपद्मा ज्यान गुमाएकाहरूप्रति जापानको समवेदना

वार्ताको सुरुवातमै प्रधानमन्त्री ताकाइचीले अगस्ट २६ मा नेपाल–चीन सीमा नजिक भएको भीषण बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नेपालीहरूप्रति जापान सरकार र जनताको तर्फबाट गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

उहाँले मृतकका परिवार तथा विपद्बाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा रहेको नेपालप्रति जापानको ऐक्यबद्धता रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ताकाइचीले जापान र नेपाल दुवै भूकम्प, बाढी, पहिरो लगायत प्राकृतिक विपद्को उच्च जोखिममा रहेक मुलुक भएको उल्लेख गर्दै नेपालको वर्तमान संकटप्रति जापान गहिरो दुःख र चिन्तामा रहेको बताउनुभयो । साथै, लामो समयदेखिको मित्र राष्ट्रका रूपमा जापान नेपालको कठिन परिस्थितिमा साथमा रहेको सन्देश दिनुभयो ।


बेपत्ता ५ जापानी नागरिकको खोजीमा ‘अधिकतम सहयोग’ माग

वार्ताको महत्वपूर्ण विषय नेपालमा विपद्पछि सम्पर्कविहीन रहेका पाँच जना जापानी नागरिकको खोज तथा उद्धार बनेको थियो ।

प्रधानमन्त्री ताकाइचीले ती पाँच जापानी नागरिकको अवस्था यथाशीघ्र पत्ता लगाउन तथा खोज र उद्धार कार्यलाई तीव्र बनाउन नेपाल सरकारसँग अधिकतम सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो।

जापानी प्रधानमन्त्रीले पछि पत्रकारहरूसँग कुरा गर्दै नेपाल सरकारलाई बेपत्ता पाँच जापानी नागरिकको तत्काल उद्धारका लागि पुनः अधिकतम सहयोग गर्न अनुरोध गरिएको बताउनुभयो । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले खोज तथा उद्धारका लागि नेपाल सरकारले पूर्ण प्रयास गरिरहेको जानकारी गराउनुभएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपालमा आएको बाढी तथा पहिरोका कारण विदेशी नागरिकसहित करिव ३ हजार मानिसहरू सम्पर्कविहीन बनेका छन् । पछिल्लो विवरण अनुसार विपद्को मानवीय प्रभाव निकै ठूलो बनेको छ र उद्धार तथा बेपत्ता व्यक्तिको खोजी कार्य अझै जारी छ । हालसम्म उक्त बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या १ हजार पार गरेको छ ।


जापानले टेन्ट र कम्बलसहित आपत्कालीन राहत सामग्री पठाउँदै

प्रधानमन्त्री ताकाइचीले जापान सरकारले नेपाललाई उपलब्ध गराउने निर्णय गरिसकेको टेन्ट, कम्बल लगायत आपत्कालीन राहत सामग्री छिट्टै नेपाल पुग्ने जानकारी पनि प्रधानमन्त्री शाहलाई दिनुभयो ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल आश्रय तथा आधारभूत राहत उपलब्ध गराउने उद्देश्यले जापानले यस्तो सहयोग अघि बढाएको हो ।

जापान सरकारले राहत सामग्रीमा मात्र सीमित नरही आगामी दिनमा आवश्यकता अनुसार थप अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ ।


अन्तर्राष्ट्रिय संस्थामार्फत थप सहायता र राहत टोली पठाउने तयारी

प्रधानमन्त्री ताकाइचीले जापानले अन्तर्राष्ट्रिय संस्थाहरू मार्फत थप आर्थिक तथा मानवीय सहायता उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

त्यसैगरी, आवश्यक परेमा जापानको जापानको अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोली नेपाल पठाउने तयारी अघि बढिरहेको बताउनुभयो ।

जापान सरकारले विपद्को अवस्था हेरेर नेपाललाई आवश्यक पर्ने सहयोगमा आफ्नो क्षमताले भ्याएसम्म अधिकतम प्रतिक्रिया दिने प्रतिबद्धता जनाएको छ ।

यसअघि पनि जापानले नेपालमा विभिन्न प्राकृतिक विपद्का समयमा राहत सामग्री, प्राविधिक सहयोग तथा अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोलीमार्फत सहयोग गर्दै आएको छ ।


प्रधानमन्त्री शाहद्वारा जापानप्रति आभार

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले बाढी तथा पहिरोबाट भएको क्षति र नेपाल सरकारले सञ्चालन गरिरहेका खोज, उद्धार तथा राहत कार्यबारे प्रधानमन्त्री ताकाइचीलाई जानकारी गराउनुभयो ।

उहाँले जापान सरकार र जापानी जनताले विपद्का बेला व्यक्त गरेको समवेदना, सहयोग तथा ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शाहले विपद्पछिको कठिन अवस्थामा नेपाललाई मित्र राष्ट्रहरूबाट प्राप्त भइरहेको सहयोग महत्वपूर्ण रहेको बताउँदै खोज, उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराउनुभएको छ ।


हिमाली क्षेत्रमा ठूलो मानवीय संकट

अगस्ट २६ मा नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोले हिमाली क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीले सडक, पुल, घर तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्‍याउनुका साथै दुर्गम क्षेत्रमा उद्धार कार्यसमेत कठिन बनाएको छ ।

पछिल्लो अन्तर्राष्ट्रिय विवरण अनुसार नेपालमा मात्रै मृतकको संख्या १ हजार नाघिसकेको र हजारौं मानिस अझै सम्पर्कविहीन रहेको रिपोर्टहरू सार्वजनिक भएका छन् । उद्धार टोलीले दुर्गम तथा प्रभावित क्षेत्रमा फसेका मानिसको खोजी जारी राखेका छन् ।

यस विपद्मा ठूलो संख्यामा विदेशी नागरिक समेत प्रभावित भएका छन् । विभिन्न देशका नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भइरहेका बेला जापानले आफ्ना पाँच नागरिकको खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकारसँग आग्रह गरेको हो ।


नेपाल–जापान सम्बन्धमा मानवीय सहकार्यको अर्को उदाहरण

प्रधानमन्त्री ताकाइची र प्रधानमन्त्री शाहबीचको यो संवाद विपद्को समयमा नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा मानवीय सहकार्यलाई थप बलियो बनाउने घटनाका रूपमा हेरिएको छ ।

प्राकृतिक विपद्को उच्च जोखिममा रहेका दुवै मुलुकबीच विपद् व्यवस्थापन, उद्धार प्रविधि, पूर्वसूचना प्रणाली तथा आपत्कालीन राहतका क्षेत्रमा सहकार्यको लामो अनुभव छ ।

हालको संकटमा जापानले राहत सामग्री उपलब्ध गराउने, अन्तर्राष्ट्रिय संस्थामार्फत थप सहयोग गर्ने तथा आवश्यक परे विशेषज्ञ सहितको आपत्कालीन राहत टोली पठाउने तयारी गर्नुले नेपाललाई तत्काल राहतसँगै खोज तथा उद्धारमा पनि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ ।

जापानी प्रधानमन्त्री ताकाइची स्वयंले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन सम्पर्क गरि नेपालमा परेको असरबारे चासो र जिज्ञासा राख्दै आफ्ना बेपत्ता नागरिक खोजिबाट जानकारी माग्नुले जापान सरकारले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको र आगामी दिनमा आवश्यकता अनुसार थप सहयोगका विकल्पहरू अघि बढाउने संकेत गरेको छ ।